साउदी जाने युवाहरुसँग चर्को अशुली, कम्पनीको एचआरले लिन्छ कमिसन ! (भिडियो सहित)

Posted on: 23 Dec, 2020

अनिल अधिकारी | पुस ८, काठमाडौँ | साउदी जान लागेका युवाहरुसंग चर्को शुल्क अशुली गर्दैगर्दा काठमाडौँको धुम्बाराही स्थित मनाश्लु इन्टरनेशनल सर्भिस प्रालिमा वैदेशिक रोजगार बिभागले छापा हानेको छ ।

साउदीको हेल्दी फुड्स को. एलटिडीमा कफी मेकर पदमा जान लागेका युवाहरुसँग म्यानपावरका अप्रेशन म्यानेजर तिर्थराज ओझाले प्रतिव्यक्ति एक लाख भन्दा बढी पैसा मागेका थिए । 'पैसा नदिए भिसा क्यान्सिल गर्दिने' धम्कि दिएपछि पिडितहरुले वैदेशिक रोजगार बिभागमा उजुरी दिएका थिए ।

पिडितहरुको उजुरीपछि वैदेशिक रोजगार बिभागले मंगलबार साँझ करिव साढे ५ बजेतिर म्यानपावरमा आकस्मिक छापा हानेको हो ।


बिभाग सहित साझा सबाल मिडिया र पिडितहरु सहितको टोली म्यानपावर कम्पनी पुग्दा म्यानपावरका संचालक हिरामणि दाहाल कार्यालयमै थिए, बिभागको टोलीले आकस्मिक रुपमा अप्रेशन रुममा छिर्दा पिडितहरुले बुझाएको पैसासहित फेला पारेको थियो ।


बिभागको टोली अनुगमनमा पुगेपछि भएको सोधपुछको क्रममा म्यानपावरका अप्रेशन म्यानेजर तिर्थराज ओझाले चर्को लागत लिएको स्वीकारेका छन् । उनले यसरी लागत लिनु बाध्यता रहेको भन्दै साउदी स्थित हेल्दी फुड्स कम्पनीको एचआर म्यानेजरलाई प्रति कामदार कमिसन बुझाउनुपर्ने र कम्पनीले टिकट समेत नदिएको कारण लागत बढी लिएको बताएका छन् । नेपाल सरकार वैदेशिक रोजगारको ऐन अनुसार खाडीका ६ राष्ट्र र मलेसिया जान १० हजार भन्दा बढी अशुली गर्न पाइदैन । तर मिडिया तथा बिभाग कर्मचारीहरुकै अगाडी अशुलीमा संलग्न म्यानपावरका कर्मचारी ओझाले अरु म्यानपावरमा आएको डिमाण्ड आफ्नो म्यानपावरमा हात पार्न सम्बन्धित कम्पनीलाई कमिसन दिएको समेत खुलाशा गरेका छन् । 


बैदेशिक रोजगार बिभागले उक्त म्यानपावर कम्पनीमा आकस्मिक कारवाही गरि २४ घण्टाभित्र बिभागमा हाजिर हुन पत्र काटेको छ । साथै पिडितहरुलाई सरकारले तोकेको शुल्कमा साउदी उडाउन र साउदी पुगेपछि कुनै प्रकारको नियोजित दु:ख नदिन समेत निर्देशन दिएको छ । वैदेशिक रोजगार बिभागले जुनसुकै बेला चर्को अशुली विरुद्ध उजुरी आउन सक्ने र वैदेशिक रोजगारमा जाने कामदार ठगिन सक्ने हुँदा सनिबार वा कार्यालयको समय बाहेकको समयमा पनि अनुगमन हुने स्पष्ट पारेको छ । 

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!