आप्रवास स्रोत केन्द्र उद्घाटन

Posted on: 18 Dec, 2020

पुस ३, चितवन । जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवास स्रोत केन्द्रको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा आज स्रोत केन्द्रको उद्घाटन गरिएको हो । 

महानगरपालिकाका प्रमुख रेनु दाहालले वैदेशिक रोजगारीमा गएर नेपाली अलपत्र पर्ने अवस्था रहेकाले यसलाई न्यूनीकरणका लागि स्रोत केन्द्र महत्वपूर्ण हुने बताउनुभयो । वैदेशिक रोजगारीमा गएर बेवारिसे बन्न पुगेकालाई यसले सहयोग गर्ने उहाँको भनाइ थियो । 

विदेशमा जान लागेका र गएर फर्किएकालाई यस केन्द्रले मनोवैज्ञानिक परामर्श दिएर स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । महानगरले विदेशबाट स्वदेश फर्किएकाको लागि ‘विदेशको सीप स्वदेशको कार्यक्रम’ सञ्चालन गर्ने तयारीमा रहेको सो अवसरमा जानकारी दिइयो । यस कार्यक्रमअन्तर्गत रु पाँच लाखसम्म ऋण लिएर व्यवसाय गर्नेका लागि सम्पूर्ण ब्याज र रु २५ लाखसम्म ऋण लिनका लागि दुई प्रतिशत ब्याज महानगरले ब्यहोर्ने प्रमुख दाहालले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लाबाट दैनिक ५० जनाले राहदानी बनाउने गरेको जानकारी दिनुभयो । अहिलेका समयमा वैदेशिक रोजगारीमा जानेका लागि मनोवैज्ञानिक परामर्श महत्वपूर्ण  पाटो रहेको उहाँको भनाइ थियो । सुरक्षित आप्रवास परियोजनाअन्तर्गत जिल्लामा केन्द्रले चार स्थानीय तहमा काम गरिरहेको छ । भरतपुर महानगरपालिका, रत्ननगर र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!