मलेसियामा कारोनाका कारण विदेशी श्रमिकको मृत्यु भएपछि सरकारले दियो यस्तो निर्देशन

Posted on: 17 Dec, 2020

पुस २, काठमाडौँ। विश्वभरी फैलिएको कोरोना भाइरसका कारण विदेशी श्रमिकको मृत्यु भएपछि मलेसिया सरकारले रोजगार दातालाई तोकिएको मापदण्ड पालना गर्न भनेको छ । सरकारले उनीहरुलाई उचित बसोवासको व्यवस्था गर्न रोजगारदाताहरुलाई सचेत गराएको हो।

केहिदिन अघिमात्रै मलेसियाको टप ग्लोव्समा काम गर्ने एक नेपाली श्रमिकको मृत्यु भएको  थियो ।उक्त घटनापछि सरकारले रोजगारदातालाई श्रमिकको आवास तथा अन्य तोकिएका व्यवस्थाहरु पालना गर्न निर्देशन दिएको छ।

मलेशियाको श्रम विभागका निर्देशक जीनि याकोबले आवास व्यवस्थापनको मापदण्ड पुरा नगर्ने रोजगारदातालाई कारवाही गर्ने बताएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।उनले मलेशियाको आवास सम्वन्धि न्यूनतम मापदण्ड, १९९० अनुरुप विदेशी श्रमिकको आवास व्यवस्थापन गर्न भनेका छन् ।

तोकिएका मापदण्ड पुरा नगर्ने  रोजगारदाताहरुलाई ५० हजार रिंगिटसम्म जरिवाना वा एक बर्ष जेल सजाय वा दुवै हुन सक्ने बताइएको छ | जीनि याकोबले नेपाल, बंगलादेश, पाकिस्तान तथा म्यानमारका नागरिक कार्यरत रहेको फर्निचर कारखानामा अनुगमन गरेका थिए ।

श्रमिक बस्ने होष्टल अत्यन्तै भिडभाडयुक्त, शौचालय समेत राम्रो नरहेको पाइएको उनले बताएका थिए । मलेशियाका मानव संशाधन मन्त्री एम शरभनानले मलेशियामा रोजगारदाताले विदेशी श्रमिकलाई उपलव्ध गराउने होष्टल ९० प्रतिशतले न्यूनतम मापदण्ड पुरा नगरेको बताएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!