वैदेशिक रोजगारमा जाने ९५.७ प्रतिशतले घटे, तर रेमिट्यान्स १२.६ प्रतिशतले बढ्यो

Posted on: 16 Dec, 2020

पुस १, काठमाडौँ | कोरोना महामारीको कारण वैदेशिक रोजगारमा जानेहरुको संख्या गत वर्षको तुलनामा ह्वात्तै घटेपनि रेमिट्यान्समा भने ५.१ प्रतिशतले वृद्धि भएको छ । 

अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने कामदारको संख्या गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९५.७ प्रतिशतले कमि भएको छ । 

मन्त्रालयका अनुसार गत आर्थिक बर्षको पहिलो चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा ७९ हजार ६८० जना वैदेशिक रोजगारमा गएका थिए भने यो बर्षको चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा वैदेशिक रोजगारमा जानेको संख्या जम्मा ३ हजार ४६३ जना रहेको छ । 


गत वर्षको तुलनामा वैदेशिक रोजगारमा जानेहरुको संख्या ह्वात्तै घटेपनि आर्थिक वर्ष २०७७/७८को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा विदेशबाट आउने विप्रेषण गत आर्थिक वर्षको तुलनामा १२.६ प्रतिशतले वृद्धि भएको छ । मन्त्रालयको अनुसार यो आर्थिक बर्षको पहिलो तीन महिनामा रु. २ खर्व ५८ अर्व ८६ करोड रेमिट्यान्स भित्रिएको छ । गत बर्षको यही अवधिमा २ खर्व २९ अर्व ८६ करोड थियो । जुन यो वर्षको तुलनामा ५.१ प्रतिशत कम हो । कोरोना महामारीको समयमा समेत विप्रेषण आप्रवाह बढेको अर्थ मन्त्रालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!