वैदेशिक रोजगार क्षेत्रका समस्या सम्बोधनका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले सघाउने

Posted on: 10 Dec, 2020

मङ्सिर २५, काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रका समस्या सम्बोधनका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले सघाउने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै महासंघ पदाधिकारीहरुले वैदेशिक रोजगार क्षेत्रका समस्या सम्बोधन गर्न सरकारसंग पहल गर्ने बताएका हुन् । 


महासंघको हालै सम्पन्न निर्वाचनमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । सङ्घका पूर्वअध्यक्ष महेन्द्र शेरचनले महासङ्घको ५४औँ वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष तथा वस्तुगत समूहका कार्यकारिणी समितिका सदस्यलाई सम्मानित गरेका हुन् ।


सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रले भोग्नुपरेका समस्या समाधान गर्न आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । विप्रेषणले नै मुलुकको अर्थतन्त्र चलायमान भएको उल्लेख गर्दै उनले विप्रेषण भित्र्याउन मुख्य भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीले व्यहोर्नुपरेको कठिनाइ समाधान गर्नुपर्नेमा जोड दिए ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले झण्डै दुई दशकदेखि आफू वैदेशिक रोजगार व्यवसायीसँगसंगै रहेको र व्यवसायीलाई परेको समस्या समाधान गर्न लागिपरेको बताए । तत्कालीन संविधानसभा सदस्य समेत रहनुभएका शेरचनले निजी क्षेत्रको छाता सङ्गठनका रुपमा रहेको महासङ्घले वैदेशिक रोजगार व्यवसायीले भोग्दै आएको समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए । 


सङ्घका अध्यक्ष विष्णु गैरेले वैदेशिक रोजगार व्यावसायीले वर्षौं देखि उठाएका जायज माग सरकारले सम्बोधन नगरेको भन्दै माग सम्बोधनका लागि अब महासंघ मार्फत सरकारसंग वार्ता गरिने बताए । साथै उनले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन उनीहरुको सीप, क्षमता र योग्यताको तथ्याङ्क सङ्कलन गरिनुपर्नेमा जोड दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!