कुवेतद्वारा अवैध विदेशी नागरिकहरुलाई जरीवाना तिरेर वैधानिक हुने अवसर

Posted on: 07 Dec, 2020

मङ्सिर २२, काठमाडौं । कुवेतले आफ्ना मुलुकमा रहेका अवैध विदेशी नागरिकहरुलाई जरीवाना तिरेर वैधानिक हुने अवसर दिएको छ । यो अवसरको लागि  एक महिनाको समय दिइएको कुवेतस्थित नेपाली दुतावासले जनाएको छ । 

विगतमा अवैध विदेशी कामदार विदा गर्न पुनः एक पटक ‘क्लिन अफ दि कन्ट्री’ कार्यक्रम शुरु गरेको कुवेतले कोरोना भाइरस संक्रमण उत्कर्षमा रहेका बेला गत अप्रिल ३० सम्म देशमा रहेका अवैध विदेशी कामदारहरुलाई विना जरिवाना आममाफी दिई घर फर्काउने कार्यक्रम शुरु गरेको  थियो ।

कुवेतले यस पटक ३० दिनको समय दिएर डिसेम्बर १ तारेखदेखि वैधानिककरण हुन समय दिएको हो  । कुवेतले सन् २०२० को अक्टोबर ३१ सम्म १३ हजार अवैध आप्रवासीलाई स्वदेश फर्काएको बताएको छ । अझै कुवेतका विभिन्न डिपोर्टेसन सेन्टरमा अवैध हैसियतका विदेशी रहेको बताइएको छ । 

कुवेतले सन् २०१८ मा ३४ हजार र सन् २०१९ मा ४० हजार विदेशी कामदारलाई विभिन्न नियम उल्लंघन गरेको आरोपमा स्वदेश फर्काएको थियो । कुवेतमा ३ हजार नेपाली अवैध अवस्थामा रहेको अनुमान छ । शुरुमा ७ हजार अवैध नेपाली रहेको अनुमान गरिएकोमा कोरोना महामारीको संक्रमण २ हजार ९ सय नेपाली आममाफीको प्रक्रियामा सहभागी भई स्वदेश फर्किएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!