वैदेशिक रोजगारी : स्वास्थ्य संस्थाहरु पुस मसान्तसम्म श्रम मन्त्रालयमा सूचिकृत हुनुपर्ने

Posted on: 07 Dec, 2020

मङ्सिर २२, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुलाई पुस मसान्तसम्म नवीकरण हुन सूचित गरेको छ । 

मन्त्रालयले पुस मसान्तभित्र पाँच हजार दस्तुर बुझाई आवश्यक कागजातसहित नवीकरण गर्न  व्यवसायीहरुलाई आग्रह गरेको छ । यसअघि तोकिएको समयमा धरौटी रकम थप नगरेको भन्दै वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने करिब तीन दर्जन स्वास्थ्य संस्थाको अनुमतिपत्र (लाइसेन्स) श्रम मन्त्रालयले खारेज गरेको थियो । यसअघि वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण हुँदा राखेको ३ लाख धरौटीमा दुई लाख थप गरी पाँच लाख नगद धरौटी पुर्याउनु पर्नेमा उक्त धरौटी नराखेका स्वास्थ्य संस्थाको  लाइसेन्स खारेज भएको थियो ।

वैदेशिक रोजगार ऐनको दफा ७२  तथा वैदेशिक  रोजगार नियमावली २०६४को नियम ४५ (क) बमोजिम स्वास्थ्य सस्थाहरुले पुस मसान्तभित्र सूचीकरण नवीकरणको लागि निवेदन दिइ सक्नु पर्ने प्रावधान छ । नवीकरण नगरी खारेजीमा परेका संस्थाले वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्न नपाउने व्यवस्था छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!