मलेसियामा बाध्यकारी श्रममा लगाइएका ६ जना नेपाली सुरक्षा गार्डको उद्धार

Posted on: 01 Nov, 2020

कार्त्तिक १६, काठमाडौं । मलेसियामा बाध्यकारी श्रममा लगाइएका ६ जना नेपाली सुरक्षा गार्डको अध्यागमन विभागले उद्धार गरेको छ । मलेसियाको अध्यागमन विभागका महानिर्देशक खैरुल डैज्मी दाउदले एक विज्ञप्ति जारी गर्दै अक्टोवर २७ तारेखका दिन मलेसियाको प्रतिआतंकवाद, सम्पत्ति शुद्धिकरण तथा आप्रवासी कामदारहरुको बेचबिखनविरुद्ध विभागले गरेको एक अपरेशनका क्रमम ३० देखि ४० वर्ष उमेर समूहका ६ जना नेपाली सुरक्षागार्डहरुको उद्धार गरेको बताएका छन् ।


उद्धार गरिएका नेपाली सुरक्षागार्डहरु सरसफाईका दृष्टिले अस्वस्थ तथा स्थानका दृष्टिले अपर्याप्त ठाउँमा बसीरहेको अवस्थामा उद्धार गरिएको खैरुलले बताएका छन् । उद्धारपछि अध्यागमन विभागले नेपाली सुरक्षागार्डहरुसँग अनतरवार्ता गरेको छ । जसमा उनीहरुले कम्पनीले विगत ६ महिनादेखि आफ्नो तलव नदिएको बताएका छन् । त्यसैगरी उनीहरुले आफ्नो रोजगारदाताले तलवसहित कुनै सहयोग नगरेको र आफुहरुसँग नभेटेको जानकारी दिएका छन् ।

उद्धार गरिएका नेपाली सुरक्षागार्डहरुको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको परीक्षण गरिएको भन्दै मलेसियन अध्यागमन विभागले हाल उनीहरु आफ्नो सेल्टरमा रहेको बताएको छ । विभागले नेपाली सुरक्षागार्डहरुलाई काममा लगाउने कम्पनीका कागजात कब्जामा लिई थप अनुसन्धान शुरु गरिएको बताएको छ ।

मलेसियाको कानून अनुसार मानव शोषण गरेको प्रमाणित भएमा १५ वर्षसम्म जेल सजाय तथा आर्थिक जरिवाना हुने प्रावधान रहेको छ । अध्यागमन विभागले सेक्युरिटी कम्पनीका मालिकहरुलाई जवाफ दिनका लागि वारेन्ट पठाएको जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!