वायुसेवा निगमको जहाजबाट पीसीआर रिपोर्ट नभएका एक यात्रु आएपछि २१३ जना नै क्‍वारेन्टिनमा

Posted on: 03 Sep, 2020

भदौ १८, काठमाडौं । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत जापानको नारिताबाट काठमाडौं आएका एक यात्रुसँग पीसीआर रिपोर्ट नभएपछि सबै यात्रुलाई होटेलको क्‍वारेन्टिनमा राखिएको छ ।

सरकारले लकडाउनपछि भदौ १६ बाट नियमित अन्तराष्ट्रिय हवाई उडान सुचारु गर्ने निर्णय गरेको थियो । सो पश्च्यात निगमले जापानबाट पहिलो नियमित उडान गरेको थियो । निगमको जहाज मार्फत बुधबार राति नारिताबाट २१३ जना नेपाली काठमाडौं आएका थिए । 

काठमाडौं आइसकेपछि चेक गर्दा पीसीआर गरेको रिर्पाट एक यात्रुसँग नभएपछि सबैलाई होटेल क्‍वारेन्टिनमा राखिएको निगमका प्रवक्ता अर्चना खड्काले साझा सबाललाई जानकारी दिईन् ।  नारिताबाट आएका २१३ जनामध्ये एक जनासँग आरडीटी नेगेटिभ रिपोर्ट मात्रै रहेछ, प्रवक्ता खडकाले भनिन्  “पीसीआर नभएको यात्रुको पीसीआर परीक्षण गर्न लगाएका छौं, बेलुकासम्म रिपोर्ट आउँछ होला ।”

एक जनाको पीसीआर गरेको रिपोर्ट नभएपछि सबै यात्रुलाई अहिले होटेल क्‍वारेन्टिनमा राखिएको उनले बताईन् । "अन्य २१२ यात्रुसँग पीसीआर गरेको र नेगेटिभ रहेको रिपोर्ट भए पनि एक यात्रुसँग आरडीटी गरेको मात्रै रिपोर्ट भएकाले सबैलाई क्‍वारेन्टिनमा राखिएको हो, परीक्षण गरेकाको पीसीआर रिपोर्ट नेगेटिभ आएमा प्रशासानको समन्वयमा के गर्ने भन्ने निर्णय हुन्छ" उनले भनिन् ।

सरकारले अन्तर्राष्ट्रियतर्फ नियमित उडान गर्न दिएको मुलुकबाट नेपाल आउँदा अनिवार्य पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्छ । सरकारले कुनै पनि एयरलाइन्सले पीसीआर गरेको र नगरेको यात्रुलाई सँगै ल्याए सबै यात्रुलाई होटेल क्‍वारेन्टिनमा एयरलाइन्सकै खर्चमा राख्नुपर्ने निर्णय गरेको छ । सोहीअनुसार निगमले सबै यात्रुलाई होटेल क्‍वारेन्टिनमा राखेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!