सरकार : २०६१ भदौ १६ को कालो दिन सम्झिएर ..'नगद धरौटी एक वर्षलाई सापटी देऊ'

Posted on: 01 Sep, 2020

भदौ १६, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यावसायी संघले म्यानपावर व्यवसायीले राखेको नगद धरौटी एक वर्षका लागि सापटी दिन सरकारसंग माग गरेको छ । कोरोना महामारी पछि वैदेशिक रोजगार ठप्प भएको कारण व्यवसायीले कार्यालय संचालन गर्न नसक्ने अवस्था आएकोले एक वर्षका लागि नगद धरौटी सापटी दिन आग्रह गरिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले बताए  ।

बि.स. २०६१ साल भाद्र १६ गते इराक स्थित अमेरिकन बेस क्याम्पमा वैदेशिक रोजगारीको लागि गएका कामदारहरु मध्ये १२ जान नेपाली नागरिकहरुको आतंककारीहरु बाट बीभत्स हत्या गरिएको थियो  । सोहि घटनाको आक्रोशमा २०६१ साल भाद्र १६ गते वैदेशिक रोजगार व्यववसाय संचालन गर्ने कम्पनीहरुको कार्यालय, घर, सवारी साधनमा आगजानी तोडफोड र लुटपाट गर्ने कार्य भएका थिए । 

उक्त घटना भएको दिनलाई व्यवसायीले "कालो दिन" घोषणा गरि विभिन्न प्रकारका सचेतना मुलक कार्यक्रमहरु गरि सम्बन्धित सबैको ध्यानाकर्षण गराउने कार्य गर्दै आएका छन् । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको माहामारीको कारणले यस वर्ष संघले कुनै सचेतना कार्यक्रम नराखे पनि यस दिनलाई व्यवसायीको "कालो दिन" को स्मरण गरेको महासचिव श्रेष्ठले बताए । 

२०६१ भदौ १६ पश्च्यात  म्यानपावर कम्पनीहरुमा भएको क्षतिको पुन:स्थापना गर्न व्यवसायीले राखेको नगद धरौटी एक वर्षको लागि सरकारले सापटी दिएको तथ्यलाई स्मरण गराउदै अहिलेको अवस्थामा पनि नगद धरौटी सापटी दिन सरकारसंग माग गरिएको श्रेष्ठले बताए । कोरोना महामारीको जोखिम रहेको भन्दै सरकारले गत वर्ष फागुन २९ गतेबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने कार्य बन्द गर्ने निर्णय गरेको थियो साथै अन्तराष्ट्रिय हवाई उडान पनि बन्द गरिएको थियो । 

सो पश्च्यात गत असार १८ बाट पुन: श्रम स्वीकृति र आजबाट नयाँ (संस्थागत) श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । अब माग आएका देशमा आवश्यक प्रक्रिया पुरा गरेर नेपाली कामदार पठाउन सकिने विश्वास म्यानपावर व्यवसायीले लिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!