दैनिक ५०० जना मात्र स्वदेश आउन पाउने यसअघिको सरकारी निर्णय परिमार्जन

Posted on: 31 Aug, 2020

भदौ १५, काठमाडौँ | सरकारले यसअघि दैनिक बढीमा ५०० जनालाई मात्र विदेशबाट स्वदेश फर्कन पाउने निर्णयलाई परिमार्जन गर्दै अब बढीमा ८०० जना सम्म स्वदेश फर्कन पाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडानबारे सामान्य संशोधन गर्दै दैनिक ५०० यात्री ल्याउन पाउने व्यवस्थालाई ८०० पुर्याइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले आज सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले भने, “नेपाल आउनपर्ने अवस्थाका गैरआवासीय नेपालीलाई सम्बन्धित देशस्थित नेपालको कूटनीतिक नियोगको सिफारिसमा नेपाल आउन दिइनेछ ।” 

वैठकले नेपालमा अध्ययन गर्ने र परीक्षामा सामेल हुनुपर्ने विदेशी विद्यार्थीलाई कोरोना जिवाणुबाट सङ्क्रमण नभएको ७२ घण्टाभित्रको प्रमाणपत्र र सम्बन्धित शिक्षण संस्थामा भर्ना भएको प्रमाणका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्ने शर्तमा नेपाल आउन अनुमति दिने निर्णय गरेको छ । 

त्यस्तै आजको बैठकले विदेशमा कम्पनीले चाहे नेपालीलाई नयाँ श्रम स्वीकृति दिईने भएको छ । मन्त्रिपरिषद बैठकको यो निर्णय संगै श्रम गन्तब्य मुलुकले माग गरेमा श्रम सम्झौताअनुसार विदेश जान चाहने नयाँ कामदारले पनि विदेश जान पाउने भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!