वैदेशिक रोजगारीका पीडा भिडियोमा (भिडियो सहित)

Posted on: 22 Aug, 2020

भदौ ६, तनहुँ | 

हातको रुमाल मैलो भयो धोईदिने कोही छैन

विरानो देशमा मै मरी गए रोईदिने कोही छैन

मरि हालें भने पनि नेपालमै मर्न पाउँ

आँखाभरि झल्किरहन्छ म जन्मेको गाउँ 

धन कमाउने आशमा विदेशिएको एक युवाको विलौना हो यो । नेपालमा रोजगारी नपाएपछि साहुसँग ऋणधन गरेर एक युवा विदेश पुग्छ । वैदेशिक रोजगारमा उसले कस्ता दुःख पाउँछ, त्यही विषयवस्तुलाई समेटेर पत्रकार अमरराज नहर्कीद्वारा रचित “बिरानो देश” को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

विदेशमा बसेको छु म  परेर अलमल

निभेको छ मनको बत्ती झलमल

कसको छ र परदेशमा आउनलाई मन 

रुदै रुदै आएको म कमाउनलाई धन

नेपाली समाजको बाध्यता बनेको वैदेशिक रोजगारी र युवाहरुको अवस्थाका बारेमा चित्रण गरेर गीत रचना गरिएको पत्रकार नहर्कीले जानकारी दिनुभयो । “नेपाली समाजको बाध्यता बनेको वैदेशिक रोजगारीले रेमिट्यान्स त भित्र्याएको छ तर साथैमा हामीलाई कहिल्यै नमेटिने गहिरो चोटहरू पनि दिएको छ,” नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष एवं गोरखापत्र दैनिकका संवाददता नहर्कीले भन्नुभयो, “यस्तै सपनाहरू र चोटहरू मिसिएको कथालाई म्यूजिक भिडियोमार्फत् सार्वजनिक गरेका छौ ।” 

पत्रकार समुन्द्र पौडेलको निर्देशन रहेको गीतमा गायक नवराज थापाले आवाज दिनुभएको छ । भिडियोमा सुदीप पौडेल र पूजा केसीको अभिनय रहेको छ । रासस 

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!