युएईमा अवैधनिक रुपमा बसेकाहरुका लागि आममाफी, पुनः युएई फर्किन पनि बन्देज नलाग्ने

Posted on: 17 Aug, 2020

भदौ १, काठमाडौं। युएईमा भिषा अवधि सकिएर अवैधनिक रुपमा बस्दै आएकाहरुका लागि छोटो समयको लागि आममाफी खुलेको छ । मार्च १ तारिख भन्दा अगाडी भिषाको अवधि सकिएकाहरुलाई विना कुनै जरिवाना स्वदेश फर्किन पाउनेगरी आममाफी घोषणा गरिएको हो ।

युएईको अनलाइन खालिज टाईम्सले सरकारी समाचार संस्थालाई उधृत गर्दै लेखेको छः आममाफीमा सहभागि हुनेहरुले आगामी नोभेम्वर १७ अगाडी युएई छोड्नुपर्नेछ । यसरी फर्किनेहरुले कुनै जरिवाना तिर्नुपर्ने छैन ।

गत मार्च अगाडी भिषाको म्याद सकिएकाहरुलाई युएईले मे १८ देखि अगष्ट १८ को बीचमा स्वदेश फर्किने अवसर दिएको थियो । हाल सो समयावधिलाई आगामी नोभेम्वर १७ सम्मका लागि बढाइएको हो । कोभिड १९ को महामारीका बीच मानवियताका आधारमा आममाफीको समयावधि बढाइएको युएईका सरकारी अधिकारीहरुले बताएको समाचारमा उल्लेख छ ।

युएईका सरकारी अधिकारीहरुले अवसरको सदुपयोग गर्न आग्रह गरेको भन्दै समाचारमा भिजिट भिषा, रेजिडेन्सी भिषमा युएई आएका र गत मार्च १ तारिख अगाडी भिषाको म्याद सकिएकाहरु आममाफीमा सहभागि हुन सक्ने जनाइएको छ । तर मार्च १ पछि युएईको भिषा सकिएकाहरु भनें यो आममाफीमा सहभागि हुन पाउने छैनन् ।

सो आममाफीमा सहभागि भएर स्वदेश फर्किनेहरुलाई पुनः युएई आउन कुनै बन्देज नलाग्ने सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । यसरी स्वदेश फर्किन चाहनेहरुसँग राहदानी तथा फर्किने हवाई टिकट हुनुपर्नेछ । यसरी स्वदेश फर्किन चाहनेहरु सिधै विमानस्थलमा जान सक्नेछन् । दुवईको अन्तराष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किन चाहनेहरु उडान भन्दा ४८ घण्टा अगावै तथा अबुधावी, सारजहा तथा रसअल खैमहका विमानस्थलबाट फर्किनेहरु उडानभन्दा ६ घण्टा अगाडी विमानस्थलको अध्यागमनमा पुग्नुपर्ने समाचारमा जनाइएको छ । यसका बारेमा थप जानकारीका लागि अबुधावी स्थित नेपाली दूतावासमा सम्पर्क गर्न सकिन्छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!