कुवेतमा नेपाली महिलाको अवस्था अज्ञात, मन्त्री विष्टको ध्यानाकृष्ट

Posted on: 01 Jul, 2018

प्रेम सुनार | असार १७, गुल्मी | गत साढे दुइ महिना देखि  कुवेतमा कार्यरत एक जना नेपाली महिलाको अवस्था अज्ञात रहेको छ । पाल्पाको तानसेन नगरपालिका वडा नम्वर–१२ को लुङकु गाउँकी २५ वर्षिया लाली बिकको अवस्था अज्ञात रहेको आफन्तजनले बताएका छन ।

दुई वर्ष अघि भारतको दिल्ली हुँदै कुवेदको एक घरमा काम गर्ने बिकलाई त्यस घर परिवारले यहाँ छाडेर अन्यत्रै गएको बताएको साढे दुई महिना देखि  परिवारजन संग फोन सम्पर्कमा समेत नरहेको गुल्मीको रुरु गाउँपालिका–१ , चिउरेक स्थित उनकी दिदी शान्ति बिकले बताईन ।

उनले भनिन्–‘त्यस अघि वहिनीले टेलिफोन सम्र्पक गरी राख्ने गरेको तर अहिले उनको फोन स्विचअफ भएपछि कुनै अप्रिय घटनाको भयले परिवारजन चिन्तित रहेकोले खोजीका लागि सञ्चार माध्यमको साहरा लिएका हौं  । ’

उनका अनुसार उनकी विहिनी बिकलाई कपिलवस्तु तौलिहवा–४ कि सकुन्तला भन्ने महिलाले दिल्लीबाट त्यस तर्फ पठाएकी थिईन् । चरम गरिवीका कारण उनि श्रीमान र चार वटी नावालिका छोरीहरु घर छाडेर उनि ऋण काढेर कुवेद उडेकी थिईन ।

अहिले सम्म उक्त ऋण तिर्ने पैसा समेत नपठाई वेपत्ता भएको परिवारजनले बताए । बिकको उद्धारका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको ध्यानकृष्ट गराउँदा उनले तत्काल आफ्नो सचिवालयलाई निर्देशन दिएर उनको खोजी र उद्धारका लागि पहल थाल्न लगाएका छन् ।

उनका स्वकिय सचिव गणेश श्रीपालीले भने–‘ मन्त्री ज्युको गम्भीर ध्यानकृष्ट भई निर्देशन  भएको छ । हामीले तत्काल अग्रसरता देखाउने भएका छौं । ’उनले वैदेशिक रोजगारमा रहेका जो कोही नेपाली विपदमा परेको भए यसै समाचारदाता मार्फत र सिधै मन्त्रालयमै फोन गरेर उद्धारका लागि आग्रह गर्ने सक्ने बताए ।

मन्त्री विष्टले उक्त मन्त्रालय सम्हाले लगत्तै विदेशमा विपदमा परेका नेपालीहरुको उद्धार भई सकेको छ ।  त्यहाँ मृत्यु हुने नेपालीहरुको शव तत्काल नेपाल ल्याउने र  एउटै मृतकका परिवारजनलाई २५ लाख सम्म राहत समेत उनले दिलाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!