अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८८ प्रतिशतले घट्यो रोजगारीका लागि बिदेशिनेको संख्या

Posted on: 16 Jul, 2024

साउन १, काठमाडौँ | अघिल्लो (२०७९/८०) आर्थिक वर्षको तुलनामा अहिले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ३.८८ प्रतिशतले घटेको छ । अहिले वैदेशिक रोजगारीमा ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक गएका छन् । जसमा ८० हजार महिला श्रमिक छन् । 

विभागमा प्रवक्ता गुरुदत्त सुवेदीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा २९ हजार ९ सय ३० जना कम गएको हो । अघिल्लो आर्थिक वर्षमा ७ लाख ७१ हजार नेपाली श्रमिक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी गएका थिए । जुन सबैभन्दा बढी हो ।


वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति लिई म्यानपावर कम्पनीमार्फत जानेहरूमा तीन लाख ५३ हजार जना रहेका छन् । व्यक्तिगत पहुँचको आधारमा ९५ हजार ३८ जना गएका छन् । वैदेशिक रोजगारीमा गई वार्षिक बिदामा आएर श्रम नवीकरण गर्नेहरूमा दुई लाख ८१ हजार रहेका छन् ।

मलेसिया र कतारले श्रमिक लैजान कटौती गरेपछि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो । मलेसियाले दुई महिनादेखि श्रमिक लैजान पूर्णरुपमा बन्द गरेको छ भने कतारले विश्वकप पछि श्रमिक लैजान कटौती गरिरहेको छ ।

श्रम विज्ञ गणेश गुरुङ नेपालमा आधारभूत आवश्यकता पूरा गर्ने रोजगारी नभएसम्म वैदेशिक रोजगारीमा नेपालीको संख्या बढ्दै गएको विषयलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । उनले वैदेशिक रोजगारीले मुलुकको सिंगो अर्थ प्रणालीलाई नियमित रुपमा सञ्चालन गर्न तेलको काम गर्न थालेको बताए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!