इजरायल रोजगार जिटुजिबाट आउट: छैन अवसरको उत्साह !

Posted on: 15 Mar, 2024

अनिल अधिकारी । चैत २, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सेवा शुल्कको बिषयलाई ध्याननै नदिई बिटुबि मोडलमा इजरायल रोजगारमा पठाउन दिने निर्णय गरेको छ । यो स्वार्थ केन्द्रित निर्णयसंगै इजरायल रोजगारमा चर्को लागत बुझाउनेले बाहेक अरुले अवसर नपाउने निश्चित छ । जसको कारण इजरायल रोजगारको अवसरको उत्साह ह्वात्तै घटेको छ ।

इजरायल रोजगारमा बिटुबि मोडलमा पठाउन दिने निर्णय पुर्व श्रममन्त्री शरदसिंह भण्डारीले मन्त्रालय सम्हाल्दाको निर्णय हो । निर्णयसँगै इजरायलको डिमाण्ड समेत आएको छ । तर यसको जानकारी गुपचुपनै राखिएको छ । २०० जनाको माग सहितको डिमाण्ड निकालेको काठमाडौँ इन्टरनेसनल इनकर्पोरेटले बिज्ञापनको सार्वजनिक गरेको-नगरेको आधिकारिक बुझ्न सकिएन । प्राप्त सूचना अनुसार पछिल्लो पटक ३००३९९ लट नम्बर स्वीकृत गरेर डिमाण्डको माग पाएको उक्त म्यानपावरले इजरायल रोजगारको चासो राख्नेहरुलाई कोटा फुल भईसकेको जानकारी दिंदै बसेको गुनाशो छ । यसै सम्बन्धमा कोटाबारे साझा सबाल मिडियाले जानकारी लिन खोज्दा सम्बन्धित पक्षले अन्तर्वार्ताको कुनै टुंगो नभएको भन्दै सूचना दिनबाट पन्छिएको छ । 

(तश्वीरमा: इजरायल रोजगारबारे आएको पछिल्लो बिज्ञापन । यो सूचना सामग्री गुनाशोकर्ताहरुबाट जस्ताको तस्तै साभार गरिएको हो। यसमा रोजगारदाता र अन्तर्वार्ताको मिति छोपेर सार्वजनिक गरिएको छ ।) 

'वैदेशिक रोजगार बिभागबाट माग स्वीकृत पाएको उक्त म्यानपावरले डिमाण्डको अन्तर्वार्ता मिति कहिले तोकेर मागपत्र पुर्व-स्वीकृति लिएको थियो ?' भन्ने प्रश्नमा वैदेशिक रोजगार बिभागका सूचना अधिकारी कविराज उप्रेतीले 'हेर्नुपर्ने' भन्दै 'केहिबेरपछि जानकारी दिन्छु' भने । तर पछि कुनै जानकारी दिएनन् (पछि फोन गर्दा फोन स्विच अफ रहेको पाइयो) । 

वैदेशिक रोजगार अन्तर्गत इजरायलको रोजगारको बारेमा बिज्ञापन भने आम सर्वसाधारणको हात-हातमा पुगेको पाइएको छ । उक्त बिज्ञापनमा रोजगारदाता कम्पनीको नाम र अन्तर्वार्ताको मिति भने मेटेर सार्वजनिक गरिएको देखिन्छ । उक्त डिमाण्डमा अन्तर्वार्ता भए-नभएको वा भित्रभित्रै मिलाउन लागिएको हो भन्ने आशंकाका बीच लक्षित रोजगारमा जान चाहनेहरुले चासो र गुनाशो राख्दै आएका छन् । 

यसअघि सरकारी कोटाबाट मात्र इजरायल रोजगाको लागि कामदार पठाउन पाउने व्यवस्था भएपनि स्वार्थकेन्द्रको प्रभावमा बिटुबि मोडलमा इजरायल रोजगारको लागि स्वीकृति दिईएको छ । यस कदममा श्रम मन्त्रालयको समेत मिलिमतो रहेको बताइएको छ । इजरायली रोजगारदाताले नेपाली कामदार लैजान चाहेको खण्डमा सरकारी प्रक्रियाबाटै लैजान पाउने र जानेले पनि निशुल्क जान पाउने व्यावस्थालाई श्रम मन्त्रालयले उल्ट्याएर निर्णय गरेपछि मन्त्रालय समेत आलोचित बनेको छ । जिटुजिको नीतिलाई उल्ट्याएर बिटुबि मोडलमा बाटो खुला गर्दा चर्को लागतसंगै मनपरी अशुली र ठगि मौलाउने अवस्था रहेको छ । 

अर्कोतर्फ इजरायल रोजगारको मागबारे श्रम मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल गरेर प्राप्त मागका सम्बन्धमा ध्यानाकर्षण नगर्दा इजरायल रोजगार नेपालबाट उम्कने खतरा समेत बढ्दै गएको छ । पछिल्लो समय मानव तस्करीको रुट प्रयोग गर्दै सयौंको संख्यामा इजरायल रोजगारमा पुगिसकेका छन् । यसरी पठाइएकाहरु मध्ये पछिल्लो पटक करिव ५० जना बीच बाटोबाटै नेपाल फर्किएका थिए । फर्काइएकाहरुलाई अझैपनि दलालहरुले म्यानपावरहरुले डिमाण्ड ल्याउन थालेको आश्वासन देखाई त्यसै कोटामा पठाईदिने भन्दै झुलाएर राखेको पाइएको छ । उनिहरुको आश्वासनलाई मान्ने हो भने ति दलाल र डिमाण्ड ल्याउने म्यानपावरबीच स्वार्थ जोडिने गरि काम हुने आशंका छ । यसै आशंकाका बीच वैदेशिक रोजगार बिभागले इजरायलको डिमाण्ड ल्याउने म्यानपावरले पारदर्शी ढंगले कामदार छनौट गरे-नगरेको अनुगमन गर्छन्/गर्दैनन् हेर्न भने बाँकी छ । 

दर्जनौं युवा अबैध बाटोबाट इजरायल रोजगारमा 

मानव तस्करीको बाटो हुँदै नेपालीलाई अवैध बाटोबाट इजरायल पठाईरहेको र यस्तो कार्यमा इजरायली दुतावासको समेत सहयोग देखिएको आशंकाबारे ध्यानाकर्षण गराउँदा नेपाल स्थित इजरायली दुतावास मौन छ । सुरुवातमा श्रम स्वीकृतिको लागि पहल गर्न भन्दै इजरायली राजदुत हानन जोडर सहित काभ्रेका बिनोद घिमिरे, धादिङका देवराज आचार्य सहितको समूह श्रम मन्त्रालय र बैदेशिक रोजगार बिभाग पुगेका थिए । तर इजरायल पक्षले आधिकारिक मागबारे कुनै पहल नगरेको भन्दै उनिहरुको प्रस्तावमाथि वास्ता नगरेपछि उनीहरुले श्रम मन्त्रालयले इजरायलको मागबारे अनदेखा गरेको भन्दै भ्रम छरेका थिए । श्रम मन्त्रालय र बिभागको पहलमा जानु अगावै ति पक्षले सयौंलाई इजरायल रोजगारमा पठाइदिने भन्दै मेडिकल गराउनेदेखि अनलाइन विवरण कलेक्सन गरेको समबन्धमा साझा सबाल मिडियाले समाचार समेत प्रकाशन गरेको थियो । वैदेशिक रोजगार ऐन २०६४ बिपरित इजाजतनै नलिई कुनै पनि देशमा पठाईदिने बहानामा वैदेशिक रोजगारको प्रक्रिया गर्न नपाइने कानुन छ । तर उक्त पक्षले कानुनको खुलेयाम उल्लङ्घन गरेको देखिन्छ । यस समबन्धमा समाचारहरु आएपछि बैदेशिक रोजगार बिभागले विज्ञाप्ति समेत जारी गरेको थियो । 

श्रम दिने सम्बन्धमा सरकारी निकायले चासो नदेखाएको भ्रम छर्दै तिनै स्वार्थ समूहको सुझाव र योजना अनुसार दर्जनौं युवाहरु इजरायल रोजगारको लागि भन्दै अबैध बाटोबाट इजरायल छिरेका थिए । इजरायल पठाउने क्रममा समूह-समूहमा ४ लाख १० हजार प्रतिव्यक्ति नेपालमै अशुली गरिएको र बाँकी खर्च जानेहरुले आफै तिरेर भारत, श्रीलंका, युएई र थाइल्याण्डको बाटो हुँदै इजरायल गएको पाइएको छ । त्यसरी पठाउनेहरुले अशुली गर्दा जानेहरुमध्यकै एक जनालाई समूहभरिको पैसा उठाउने जिम्मा दिएर योजनाबद्ध रुपमा अशुली गरिएको पाइएको छ ।

पछिल्लो पटक त्यसरी पठाउने क्रममा झन्डै ५० जना युवाहरु नेपाल फर्किएपछि उनिहरुलाई भक्तपुर स्थित एक होटलमा राखिएको थियो । उनीहरुमध्ये केहि अझै उही गिरोहको प्रलोभनमा इजरायल रोजगारमा जान पाउने आशामा छन् । जान चाहनेहरुलाई एजेन्ट पक्षले म्यानपावर मार्फत पठाइदिने आश्वासन दिएर पहिले आशुलेको पैसा समेत फिर्ता नदिई राखेको जानकारी प्राप्त भएको छ । इजरायल जाने आशामा मेडिकल गरेकाहरु समेत रोजगारमा जान नपाएर बसेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!