वैदेशिक रोजगारको लागि विदेशिने नेपालीको नयाँ रेकर्ड: एकै बर्षमा ७ लाख ७१ हजार युवा बिदेसिए

Posted on: 17 Jul, 2023

साउन १, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारमा जाने नेपालीको संख्याले हालसम्मकै उच्च रेकर्ड राखेको छ । गत आर्थिक बर्षको रेकर्ड अनुसार ७ लाख ७१ हजार युवा बिदेसिएका हुन् । 


झन्डै तीन बर्षको कोरोना कालपछि सहज बनेको वैदेशिक रोजगारसंगै विदेशिने नेपालीको संख्या ह्वात्तै बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३२७ जना श्रमिक नयाँ तथा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका हुन् । बिभागको अनुसार पछिल्लो असार महिनामा वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिनेहरुको संख्या ५१ हजार ६५० जना रहेका छन् ।
यो संख्याले भिजिट भिसाको बाटो हुँदै विदेश जाने, सिजनल वर्करको रुपमा जाने तथा अध्ययनको उदेश्यले बिभिन्न कन्सल्टेन्सीमार्फत विदेश जानेहरुलाई समेट्दैन । त्यस्तै अवैध बाटो हुँदै घरेलु कामदारको रुपमा गएका हजारौं महिलाहरु समेत माथिको तथ्यांकमा समेटिएको छैन । पछिल्लो समय वैदेशिक रोजगारको लक्ष्य लिएर अध्ययन तथा भिजिटमा समेत हजारौं नेपाली युवाहरु बिदेशका बिभिन्न मुलुकहरुमा पुगेका छन् । कति नेपाली भिजिटमा गए र कति फर्किए/फर्किएनन् भन्ने तथ्यांक सरकारसंग नहुँदा भिजिटमा वा अन्य प्रयोजनमा विदेश गएर उतै बसेकाहरुको तथ्यांक निकाल्न सकिएको छैन । 

नेपालमा प्रयाप्त रोजगारको अवसर नहुँदा नेपाली युवाहरुको लागि वैदेशिक रोजगार सबैभन्दा सहज बिकल्प बनिरहेको छ । युवाहरुलाई स्वदेशमै उद्दमशीलतामा जोड्न प्रत्येक बर्ष सरकारी योजना बजेट मार्फत तेर्सिएपनि युवाहरुले स्वदेशमा स्वरोजगार हुने वातावरण पहिचान गर्न सकेका छैनन् । त्यसो त बढ्दो महंगीका कारण सेदेश्मा रोजगार पाएकाहरुको आकर्षण समेत वैदेशिक रोजगारनै बनेको अवस्था छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!