शंकाकै भरमा ठूलो संख्यामा नेपाली कामदारहरु विमानस्थलबाट फर्काइयो

Posted on: 13 Jul, 2023

असार २८, काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यामागमन कार्यालयले बुधबार बेलुका ठूलो संख्यामा वैदेशिक रोजगारमा जान लागेका नेपाली कामदारलाई नेपाल एअरपोर्टबाट गन्तव्य देश जान नदिई फिर्ता पठाएको छ । शंकाकै आधारमा अस्पष्ट पत्र थमाएर विमानस्थल कार्यालयले कामदारहरुलाई प्रस्थान अनुमति नदिई फिर्ता पठाएको हो । 

विमानस्थलबाट फिर्ता पठाइएका पीडितहरुबाट प्राप्त प्रमाणको आधारमा उनीहरु बिभिन्न म्यानपावर कम्पनी मार्फत वैदेशिक रोजगारमा गएको पाइएको छ । जस मध्ये बुधबार बेलुका फर्काईएकाहरुमा निलकमल ह्युमनबाट गएका २४ जना, इन्डेक्स म्यानपावरबाट गएका ४७ जना, युथ म्यानपावरबाट गएका ३२ जना रसुलभ म्यानपावरबाट गएका ४ जना फिर्ता भएका हुन् । पीडितहरुबाट प्राप्त भएको भिसा जो कोहिले भेरिफाई गर्न सक्ने साथै पासपोर्ट नम्बरको आधारमा संस्थागत रुपमै श्रम स्वीकृति लिएको पाइएको छ । 

पीडितहरुले 'कागजात संकास्पद' भएको अनुमानकै भरमा खादा/माला लगाएर वैदेशिक रोजगारमा उड्न गएकाहरुलाई फर्काउनु स्वभाविक विषय नभएको बताएका छन् । सबै प्रक्रिया पुरा गरि वैदेशिक रोजगारमा जान खोज्दा पनि अध्यागमनले रोकेको बिषय दु:ख दिने नियत मात्र रहेको पीडितको भनाई छ । 'विमानस्थल अध्यामागमन कार्यालयमा सेटिङ गरेर पठाउँदा सबै पास हुने तर प्रमाणित हुने कागजात बोकेर जाँदा पास नहुने रहेछ ।' एक पीडितको आक्रोश छ । विमानस्थलमा सेटिङ चल्ने विषय पहिलेदेखिनै गुनाशोको रुपमा सुनिदै आएका विषय हुन् । यस सम्बन्धमा सम्बन्धित म्यानपावर कम्पनीहरुसँग समेत भेरिफाई गर्दा कुनै कागजात फेक नबनाएको, प्रक्रिया पुरा गरेरै वैदेशिक रोजगारको प्रक्रियामा पठाएको र विमानस्थलले रोक्नुपर्ने कुनै कारण नरहेको बताएको छ । 

त्यसो त संस्थागत रुपमा रोजगारमा गएको नागरिकलाई विदेश पुगेपछि आउने समस्याको समाधानको जिम्मेवारी वैदेशिक रोजगार बिभागको कार्यक्षेत्रभित्र पर्ने र संस्थागत रुपमा हुने श्रम स्वीकृति सम्बन्धित देशमा रहेको दुतावासबाट प्रमाणीकरण भई बिभागबाट श्रम स्वीकृति समेत लिई आउने हुँदा कामदारलाई आइपर्ने समस्याको स्पष्ट कानुनी उपचार पाउने आधार हुन्छ । साथै कामदार बिदेशमा गई अलपत्र परेको खण्डमा कारवाहीको लागि म्यानपावर आफैमा भागिदार हुने अवस्था छ ।

विमानस्थलले सबै प्रमाणित कागजात हुँदाहुँदै पनि विमानस्थलबाट अनुमानकै भरमा रोक्नुले जो कोहि नागरिक वैदेशिक रोजगारमा जाँदा बिना कारण बिमानस्थलको संकास्पद पत्रको आधारमा वैदेशिक रोजगारमा जान नपाउने अवस्थाको निरन्तरता रहने बुझिएको छ । 

यसै सम्बन्धमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण ११० जना वैदेशिक रोजगारमा जानेहरुलाई विमानस्थलले दु:ख दिएको र उनिहरुको ननरिफण्डेबल टिकट त्यतिकै खेर गएको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!