साउदी दूतावासद्वारा शैक्षिक प्रमाणपत्र फेरि अनिवार्य

Posted on: 27 Jun, 2023

असार १२, काठमाडौँ | नेपालस्थित साउदी अरबको दूतावासले भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । गत जुन १२ तारिखदेखि वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको भिसाका शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको थियो । तर, चौतर्फी विरोधपछि दूतावास आफ्नो निर्णयबाट पछि हटेको थियो ।

अहिले पुनः शैक्षिक प्रमाणपत्र अनिवार्य माग गर्न थालेको हो । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने नियम पुनः लगाएको हो । 


दूतावासको उक्त निर्णयको नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतले चर्को विरोध गरेका थिए । त्यसपछि दूतावासले माथिल्ला पदहरूमा प्रमाणीकरण भएको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने भएपनि लेबर भिसामा जाने कामदारको हकमा प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र अनिवार्य नगरिएको जनाएको थियो । त्यसपछि दुई हप्ता सहज रूपमा भिसा प्रदान गरिएको थियो ।

तर, हाल दूतावासले पुनः भिसाका लागि प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।

दूतावासले आधिकारिक रूपमा केही जानकारी दिएको छैन । तर, भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । जसले गर्दा भिसाका लागि जाने नेपालीहरू मर्कामा परेका छन् ।  

दूतावासबाट औपचारिक जानकारी नआएका कारण यो विषय के गर्ने भन्ने अहिलेसम्म निर्णय गर्न नसकिएको महासचिव भुर्तेलले बताए । ‘हामीलाई औपचारिक जानकारी आएको छैन । बाहिरबाट बुझ्दा प्रमाणपत्र अनिवार्य गरेको छ । दूतावासलाई मेल लेखेर जानकारी लिने काम भइरहेको छ । दूतावासबाट प्रतिक्रिया दिएपछि के गर्ने भनेर अगाडि बढ्छौँ,’ उनले भने ।

यसअघि दूतावासले साउदी जानको लागि आवश्यक पर्ने भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गर्ने जनाएको थियो । उसले एसईई/एसएलसी सम्मको शैक्षिक प्रमाणपत्र माग गर्ने भनेको थियो । तर, यो विषयमा चौतर्फी विरोध भएपछि अन्तिम दिनमा ब्याक हटेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!