वैदेशिक रोजगारका क्रममा ‘अनडकुमेन्टेड’ श्रमिकलाई वैधानिक बनाइदै

Posted on: 21 Jun, 2023

असार ६, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा (वैधानिक कागजात नभएर समस्यामा रहेका) नेपाली श्रमिकहरूलाई वैधानिक बनाउन पहल थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा अवैध रूपमा बस्दै आएका नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालेको हो । 

बैधानिक बनाउने क्रममा नेपाली सरकारको कारण अवैधानिक बनेकाहरुलाई बैधानिक बनाइनेछ भने विदेशमा समेत बिदेशी कानुनको कारण अवैधानिक भएकाहरुलाई सम्बन्धित देशमा पहल गरि बैधानिक गराउने पहल गरिने मन्त्रालयले जनाएको छ । नेपालबाट श्रम स्वीकृति लिएर विदेश गएका तर नवीकरण नगरी बसिरहेकाहरु, भिजिट भिसा तथा अन्य तरिकाले विदेश गएर रोजगारदाताबाट काम पाई काम गरिरहेकाहरुलाई समेत सरकारले बैधानिक बाटोमा ल्याउनेछ । जसको लागि श्रम स्वीकृतिको व्यवस्था गरिनेछ । 

सरकारले दिने यो सुविधाबाट विशेष गरि विदेशमा घरेलु कामदारको रुपमा काम गरिरहेका नेपालीहरु लाभान्वित हुनेछन् । उनिहरुमध्ये अधिकांश अनडकुमेन्टेड छन् । उनीहरुलाई बैधानिक बनाउँदा उनीहरु सहजै नेपाल आउन र रोजगारमा फर्कन सक्नेछन् । अहिले बिदेशमा घरेलु कामदारको रुपमा काम गर्दै आएका कयौं नेपालीहरु श्रम स्वीकृति नपाउने हुँदा नेपाल फर्किएर पुन: काममा फर्किन नपाउने डरले लामो समयदेखि बिदेशी भूमिमै बस्दै आएका छन् । त्यस्तै भिजिट भिसामा गएर काम गरिरहेकाहरु समेत सरकारले दिने नयाँ सुविधामा समेटिने छन् । यसका लागि जो-जो अवैधानिक छन् उनिहरुलाई विदेशमै श्रम स्वीकृति दिने व्यवस्था मिलाईने मन्त्रालयको तयारी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!