नेपाल र यूएईबीचको श्रम समझदारी ४ वर्षका लागि स्वतः नवीकरण

Posted on: 14 Jun, 2023

जेठ ३१, काठमाडौँ | नेपाल र युएईबीच सन् २०१९ मा भएको द्विपक्षीय श्रम समझदारी चार वर्षका लागि स्वतः नवीकरण भएको छ । काठमाडौँमा सम्पन्न दुई देशको संयुक्त कार्य समितिको तेस्रो बैठकले सन् २०१९, जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारी चार वर्षका स्वतः नवीकरण गर्ने निर्णय गरेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको बैठकमा सहभागी हुन युएईको टोली नेपाल आएको थियो ।  उक्त बैठकमा नेपालले दोस्रो बैठकमा भएका समझदारीको कार्यान्वयन तथा प्रगति अवस्थाको समीक्षा गर्दै द्विपक्षीय श्रम समझदारीमा व्यवस्था भए बमोजिम आगामी ४ वर्षको लागि स्वतः नवीकरण हुने समझदारी भएको मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले जानकारी दिए । 

उक्त बैठकमा नेपालको तर्फबाट समितिमा भाग लिने कार्यदलको नेतृत्व गर्दै मन्त्रालयका सहसचिव राजीव पोखरेलले द्विपक्षीय समझदारीको पुनरावलोकन, नेपाल सरकारको श्रम तथा वैदेशिक रोजगारसम्बन्धी पछिल्ला कानुनहरूको जानकारी समेत गराएका थिए । 

त्यस्तै नेपाली श्रमिकहरूलाई युएईमा न्यूनतम तलबको सुनिश्चितता, मृत्यु हुने नेपाली श्रमिकहरूको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था विषयमा समेत नेपालको धारणा राखेका थिए । त्यस्तै जेल तथा कैदमा रहेका नेपाली श्रमिकहरूको विवरण तथा अलेखवद्ध रूपमा युएईमा रहेका नेपाली श्रमिकहरूलाई आममाफी सहित नेपाल फिर्तीमा सहजीकरण गर्न युएई सरकारसँग अनुरोध गरिएको छ ।  नेपाली श्रमिकहरूको सीप स्तरोन्नतिका लागि द्विपक्षीय सहकार्य गर्ने विषयमा समेत नेपाल प्रस्ताव राखेको थियो । 

नेपाले राखेका प्रस्ताव छलफल गर्दै युएई सरकारका तर्फबाट नेतृत्व गरेका सहायक उपसचिव अबदुल्ला अल्नुईमी ले युएईको श्रम बजारको अवस्था चित्रण गरेका थिए ।  आफ्नो कार्यदल र युएई सरकार नेपालले राखेका प्रस्ताव सम्बोधनका लागि सकारात्मक रहेको प्रतिक्रिया दिए ।

यूएईले नेपालबाट घरेलु कामदार लैजान इच्छुक रहेको बताउँदै प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो ।  बैठकको शुभारम्भमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दुवै सरकारको भूमिका उल्लेखनीय रहेको बताएका थिए ।  वैदेशिक रोजगारीको भर्ना प्रक्रिया स्वच्छ तथा मर्यादित बनाउन दुवै सरकारबीच आपसी सहकार्य अभिबृद्धि गर्दै जानुपर्नेमा जोड दिएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!