शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि ध्यानाकर्षण गराइने

Posted on: 10 Jan, 2022

पुस २६, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने भएको छ । संयुक्त विद्यार्थी सङ्गठनको आज राजधानीमा बसेको बैठकले सरकारले लागू गरेको मापदण्डविपरीत शैक्षिक संस्था चल्दै गएका र शैक्षिक संस्थामा समस्या देखिएका भन्दै समाधानका लागि सम्बन्धित विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकले काठमाडौँ विश्वविद्यालयअन्तर्गत नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमा विद्यार्थीमाथि भएको दमनको भत्र्सनासमेत गरेको छ । लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका चाँडो तोक्नसमेत बैठकले माग गरेको छ ।

यस्तै कोभिड–१९ को तेस्रो भेरियन्ट र शैक्षिक क्षेत्रमाथि पर्न जाने सम्भावित जोखिमका बारेमा समेत बैठकमा छलफल भएको नेवि सङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिनुभयो ।

बैठकमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल छैठौँलगायत विद्यार्थी सङ्गठनका नेताको उपस्थिति थियो ।

बैठकमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको भन्दै नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानालाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!