कतारमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

Posted on: 07 Jul, 2020

योगेन्द्र योगी | असार २३, दोहा | कतारमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । सोमबार ५४६ नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख ३ सय ४५ पुगेको छ ।

सोमबार मात्रै १ हजार ६ सय ९४ जनाले उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको हुनेको संख्या ९३ हजार ८ सय ९८ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ६ हजार ३ सय १४ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये १ सय ६४ जना गम्भिर अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाको कारण १ सय ३३ जनाले मृत्यु भैसकेको छ । 

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने कतारस्थित नेपाली दूतावाससंग पनि तथ्याङक छैन । 

कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् । कोरोनाकै कारण कतारमा पाँच जना नेपालीको मृत्यु भएको बताईएको छ । कतारमा विभिन्न क्षेत्रमा गरि ३ लाख ५० हजार नेपाली कामदार कार्यरत छन् । 

कोरोना भाइरसबाट बच्न सबैलाई सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । सबैले अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्नु पर्ने जनाएको छ । कतारले स्थिति सामान्य बन्दै गए चौथो चरण अर्थात्  सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!