अमेरिकी अदालतमा ममता काफ्ले प्रकरण: नरेश धरौटीमा छुट्न पाउनेबारे फेरि सुनवाइ तय, मुद्दाको छिनोफानो ५ महिनाभित्रै हुनुपर्ने

Posted on: 18 Sep, 2024

असोज २, काठमाडौं । अमेरिकाको प्रिन्स विलियम काउन्टी कोर्टले ममता काफ्लेको मुद्दामा प्रतिवादी नरेश भट्टका पक्षमा निर्णय लिँदै आएको छ। नरेश भट्टलाई हत्याको अभियोगमा दोषी ठहर गर्न ठोस प्रमाणहरू अभाव भएको भन्दै अदालतले मुद्दालाई ‘स्पिडी ट्रायल’ प्रक्रियामा राखेको छ। 

नरेश पक्षको माग अनुसार यो मुद्दा ‘स्पिडी ट्रायल’ को प्रक्रियामा गइसकेको छ । यो प्रक्रियामा जाँदा ५ महिनाभित्रै मुद्दाको छिनोफानो भइसक्नु पर्छ । प्रमाण जुटाउन बाँकी रहेकाले सरकारी वकिलहरू मुद्दालाई लम्ब्याउन चाहन्थे । 

नरेशका वकिलहरू भने छिटो फैसला होस भन्ने पक्षमा थिए । अदालतले नरेशका वकिलहरूको माग बमोजिम निर्णय लिएको छ ।

अन्तिम सुनवाइ कहिले गर्ने भनेर अस्ति १६ तारिखमा एउटा मोसन हियरिङ राखिएको थियो । उक्त सुनवाइमा सरकारी वकिलले जनवरीको अन्तिम वा फेब्रुअरीमा राख्न माग गरे ।

५ महिने डेडलाइनको अन्तिमतिर सुनवाइ राख्दा सबै प्रमाणहरू संकलन गर्न आफूहरूलाई सहज हुने उनीहरूको भनाइ थियो ।

यता नरेश भट्टका वकिलहरूले भने नोभेम्बर वा डिसेम्बरभित्रै सुनवाइ हुनुपर्नेमा जोड दिएका थिए । अभियोग पुष्टि हुने ठोस प्रमाण नभएकाले नरेशलाई धेरै थुनामा राखिरहन नहुने उनीहरूको तर्क छ । 

जसलाई अदालतले मानेर डिसेम्बर ९, १०, ११, १६, १७ र १८ तारिखलाई सुनवाइको मिति तोकेको छ। ममताका वकिलहरू भने यी मितिहरूप्रति असन्तुष्ट छन्, किनकि उनीहरूलाई सबै प्रमाणहरू संकलन गर्न थप समय आवश्यक थियो।


नरेशका वकिलहरूले राखेको अर्को माग पनि अदालतले पूरा गरिदिएको छ । उनीहरूको नयाँ माग थियो, नरेशलाई धरौटीमा छोड्ने विषयमा फेरि सुनवाइ राख्नुपर्ने । अदालतले उनीहरूको मागेबमोजिम ममता कार्यालयबाट निस्किँदै गर्दाको सीसीटीभी फुटेज प्रहरीले उपलब्ध गराएको थियो । त्यस आधारमा नरेश भट्टका वकिलले ममता ज्यूँदै रहेको भन्दै नरेश धरौटीमा छुट्नुपर्ने माग राखेका हुन् । यो मागलाई सदर गर्दै अदालतले २९ तारिखमा अर्को मोसन हियरिङ बोलाएको छ ।

यसअघि अदालतले नरेशको बोन्ड अपिल खारेज गरेको थियो । उनीबाट भाग्न सक्ने र अरूलाई जोखिममा पार्न सक्ने भन्दै न्यायाधीशले धरौटीमा छोड्न अस्वीकार गरेका थिए । तर, फेरि एक पटक यही विषयमा सुनवाइ हुने भएको छ ।

यो मुद्दा हाल ममता काफ्लेको हत्यासँग सम्बन्धित नभएर लास बेपत्ता पारिएको सम्बन्धमा रहेको छ। यदि दोषी प्रमाणित भएमा नरेशलाई एकदेखि पाँच वर्ष जेल सजाय र २५ सय डलरसम्म जरिवाना हुनसक्छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!