अन्य देशले आफ्ना नागरिकको उद्धार गर्‍यो, इजरायली बंकरमा नेपाली मात्रै

Posted on: 09 Oct, 2023

असोज २२, काठमाडौँ | इजरायल र गाजाबीच शनिवारदेखि युद्ध जारी छ । उक्त युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो । हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन् । उनीहरूले निरन्तर रूपमा उद्धारका लागि अनुरोध गर्दै आएका छन् । तर, अहिलेसम्म उद्धार हुन सकेको छैन । 

कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी अजुर्न गिरीकाअनुसार अन्य देशका नागरिकहरूको धमाधम उद्धार भयो । तर, युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपाली विद्यार्थीको भने शनिवारदेखि आजसम्म उद्धार हुन सकेको छैन ।  आफूहरूसँगै रहेका थाइल्यान्ड, इजरायल लगायतका अन्य देशका विद्यार्थीको उद्धार गरिएको उनको भनाई छ । ‘हामीले दूतावासमा पटक–पटक फोन गरेर उद्धारका लागि गुहार गर्‍यौँ । तर, लोकेसन पठाइदिनुहोस् भन्ने मात्र जवाफ आउने गरेको छ । उद्धार हुन सकेको छैन’ गिरीले भने ।  

सुदूरपश्चिम विश्वविद्यालयका २० जना विद्यार्थीहरूलाई अर्को क्षेत्रमा लगिँदै छ । उनीहरू बस्दै आएको बंकरबाट उद्धार गरेर आज दिनभरमा आफूहरू भएको ठाउँमा ल्याउन लागिएको उनको भनाई छ ।  ‘शनिवारदेखि विभिन्न देशमा विद्यार्थीहरू बङ्करमा थिए । तर, अन्य देशका विद्यार्थी तथा नागरिकको उद्धार गरियो । हाम्रा साथीहरू भने शनिवारदेखि नै बङ्करभित्रै छन्’ उनले भने ।  

हाल कृषि विश्वविद्यालयका ३९ जना विद्यार्थी जीमान फार्ममा छन् । जुन इजिप्टको सिमाना नजिकै पर्छ । इजिप्टको बोर्डरभन्दा ५०० मिटरको दुरीमा मात्रै रहेको उनको भनाई छ । उक्त क्षेत्र गाजासँगको सीमा क्षेत्रबाट भने करिब ३० किलोमिटरको दूरीमा हो ।  उनीहरू बस्ने ठाउँमा भने सुरक्षित मानिएको छ । तर, न बङ्कर छन्, न त आर्मी नै छन् । बङ्कर नै नभएको ठाउँ कसरी सुरक्षित हुने भन्दै उनले प्रश्न गरे । 

त्यस्तै १८ जना विद्यार्थीहरू मिफ्ताहिम भन्ने ठाउँमा रहेको सोरासिम नर्सरीमा छन् । उनीहरू पनि शनिवारदेखि नै बंकरभित्र छन् । अहिलेसम्म उद्धारको लागि कोही नआएको उनको भनाई छ ।  त्यस्तै ८ जना विद्यार्थीहरू नेटिभ भन्ने ठाउँमा छन् । जुन गाजासँगको सीमा क्षेत्रबाट ४÷५ किलोमिटरको दूरीमा पर्छ । थाइल्यान्ड लगायतका देशका नागरिकहरूको भने त्यहाँबाट उद्धार भइसकेको छ । तर, नेपाली विद्यार्थीको भने त्यहाँबाट उद्धार हुन नसकेको उनको भनाई छ । 

बंकरभित्र बसेपनि बाहिर गोली चलेको बम पड्किएको आवाज आइरहेको छ । जसले गर्दा कति बेला के हुन्छ भन्नेमा डरै डरमा बस्नु परिरहेको उनको भनाई छ । ‘बंकरभित्रबाट बाहिर गोली चलेको, बम पड्किएको आवाज आइरहेको छ । उद्धार गर्न भनिरहेका छन् । तर, हामीले पनि केही गर्न सकिरहेका छैनौं । आफ्नै साथी गोली लागेको ढलेको छ । फेरि बम पड्किने, गोली चल्ने क्रम जारी छ’ उनले भने । 

आफूहरूसँगै जाम्बिया र थाइल्यान्डका नागरिक समेत काम गर्दै आएको तर, उनीहरूलाई भने सुरक्षित स्थानमा लगिसकिएको बताए ।  ‘इन्डियाले आफ्ना नागरिकको उद्धार गरेर लगिसक्यो । इजरायलका मानिसहरूलाई हेलिकोप्टरबाट नै उद्धार गरेको छ । हामीले काम गर्ने फार्मको बोस आफैं सुरक्षित क्षेत्रमा गइसकेको छ । अहिले बङ्करमा नेपालीहरू मात्र छन् ।’ उनले भने ।   

‘मैले राजदूत कान्ता रिजाललाई फोन गरेको थिए । लोकेसन पठाउनु भन्नुभयो । तर, कोही आएका छैनन् । अहिले त बंकरभित्र नेपालीहरू मात्र छन् । अन्य देशकाहरूको फटाफट उद्धार भयो । हामी भने बङ्करभित्रै छौं’ उनले भने ।   

इन्टनका लागि गएपछि भने जस्तो काम नभएको उनको भनाई छ । ‘जतिखेर पनि थर्काएको थर्काए गर्ने । लेबरको जस्तो व्यवहार गर्ने । पुरै नपढेको जस्तो काममा लगाउँदा रहेछन्,’ उनले भने, ‘प्रेक्टिकल भनेको छ, खेतका काम गर्ने झार उखेल्ने काममा लगाएको हुन्छ । यो त प्रेक्टिकल भएन ।’  उनले यो इन्टर्न कार्यक्रम नै स्क्यामको संज्ञा दिएका छन् । इन्टनका लागि इजरायल पुगेका सबै विद्यार्थीले तत्काल नेपाल फर्काउन माग गर्दै आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!