राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट

Posted on: 20 Mar, 2023

चैत ६, काठमाडौँ | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले आज सिंहदरबारमा शिष्टाचार भेटघाट गर्नुभएको छ । 

उक्त अवसरमा अध्यक्ष तिमिल्सिनाले बेलायतले नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले बेलायती संसद्का सभामुखलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकेको जानकारी गराउनुभयो । 

नेपाल र बेलायतबीच शान्ति तथा मैत्रीसन्धि भएको एक सय वर्षका अवसरमा आयोजना गरिने औपचारिक कार्यक्रममा बेलायती संसद्का सभामुखलाई प्रमुख अतिथिका रुपमा नेपालमा स्वागत गर्न चाहेकोसमेत उहाँले बताउनुभयो । उक्त भेटका क्रममा सांसद शर्माले बेलायतबाट छिट्टै उच्चस्तरीय भ्रमण हुने जानकारी गराउनुभयो ।  

साथै बेलायतलगायत युरोपेली आकाशमा नेपाल वायुसेवाको उडान प्रतिबन्ध फुकुवाको पहल गर्न तथा नेपाल–बेलायत सिधा हवाई उडानको व्यवस्थाका लागिसमेत राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले आग्रह गर्नुभयो । उहाँले बेलायत सरकारले ब्रिटिस गोर्खाली सेनाका विषय, पर्यटन प्रवद्र्धन, पूर्वाधारमा लगानी, सीप विकास, नेपाली विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थालगायतका विषयमा सहयोग गर्न आग्रह गर्नुभयो । सो अवसरमा उहाँहरुबीच दुवै देशका सांसदबीच संसदीय अभ्यासको आदानप्रदानका बारेमा समेत छलफल भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!