धन्यवाद अध्यागमन, अब बैदेशिक रोजगारीमा ठगिएका कयौं नेपालीहरुले न्याय पाउँछन्

Posted on: 30 Aug, 2016

अध्यागमन बिभागले नेपाल प्रवेश गर्नु अघिनै विदेशीको पुरा विवरण हेर्न मिल्ने प्रविधि भित्राउने अन्तिम तयारि गरेको खबर सुन्न पाउदा धेरै खुशी लाग्यो । बिकसित देशमा यो प्रबिधि नौलो होइन । यो प्रविधिको प्रयोगले ठगि र अपराध घट्ने कुरामा कुनै शंका गर्नु पर्दैन । 

नेपालमा ठुलो रकम ठगि गरेर विदेश बस्ने अनि नेपालमा गम्भीर अपराध गरेर विदेश भाग्ने र बेला-बेलामा सुटुक्क नेपाल आएर छुट्टी मनाएर वा परिवार भेटेर फर्कनेहरुलाई समाउन यसले ठूलो मद्दत मिल्नेछ । साथै बिदेशमा अपराध गरेर नेपालमा बस्न आउनेहरुलाई पनि यो प्रविधिले  समाउन सजिलो बनाउने छ । यसबाट नेपाल अन्तराष्ट्रिय अपराधीहरुको कार्य स्थल बन्नबाट बच्ने छ र नेपालको छबि अझ सुध्रने छ । प्रहरीले अपराधिहरुको विवरण अध्यागमनमा इन्ट्री गराउदा अपराध गरेर भाग्नेहरुलाई समाउन पनि सहयोग पुग्नेछ । यसले नेपाल प्रहरीलाई काम गर्न सजिलो बनाउने छ र शान्ति-सुरक्षामा ठूलो सुधार आउने छ । जसले गर्दा नेपाल घुम्न सुरक्षित छ भन्ने सन्देस विश्वभर जानेछ, फल स्वरूप हाम्रो पर्यटन व्यवशाय फस्टाउने छ ।

यो प्रबिधिसंगै अहिलेको प्रचलित आइ स्क्यानिंग प्रबिधि पनि हाल्न पाए अझै राम्रो हुने थियो । अरबमा काम गर्ने सम्पूर्ण नेपालीहरुलाई थाहा छ कि आइ स्क्यानिंग प्रबिधि भनेको के हो भनेर । जब कुनैपनि बिदेशी नागरिक वा मजदुरी गर्न जाने आम मान्छे अरवका विमानस्थलमा प्रवेश गर्छन तब एरपोर्टमा अनिवार्य आइ स्क्यानिंग गरिन्छ । यदि कुनै अपराध गरेको छ वा गैरकानुनी काम गरेको देखियो भने त्यस्तो मान्छे पछी एरपोर्ट मै समातिन्छन् ।   फितलो नियम कानुन र प्रविधिको अभावले समाजमा अपराध नियन्त्रण गर्न कठिन हुँदोरहेछ, भने ठग र अपराधिहरुको मनोबल बढ्दो रहेछ । आजको  इन्टरनेटमा आधारित सुचना प्रबिधिको जमानामा जस्तो सिस्टम वा तरिका आफुलाई चाहियो त्यस्तै खालको सफ्टवेएर बनाउन मिल्छ । यस्ता कुरालाई  सरकारले अलिकति मात्र ध्यान दिने हो भने पनि सस्तैमा चाहेको सिस्टम जोड्न सकिन्छ ।

म आफै पनि ठगिमा परेको छु । दुवईमा ४ बर्षसंगै काम गरेको बाग्लुङ्गको साथि छ/सात बर्ष अगाडी क्यानाडा पुगेका रहेछन् । मलाइ पनि क्यानाडा काम मिलाई दिन्छु भनेर बारम्बार कर गरेपछि नाइँ भन्ने कुरै आएन । प्रोसेशको लागि पैशा पठाउन भने । तर मसंग पैसा थिएन । क्यानाडा गएपछि तिरी हालिन्छ नि भनेर नेपालमै ब्याजमा ऋण खोजेर क्यानाडियन डलर चार हजार पाँच सय बराबर तीन लाख साठी हजार पैसा साथीले भनेको खातामा जम्मा गरिदिए । संगै काम गरेको साथीको बिश्वासले कुनै शंका पनि गरिएन । लोकल एजेन्ट हो डराउँन पर्दैन, इन्केस काम भएन भने पनि छ महिना पछि पैशा फिर्ता हुन्छ भनेर भनेका थिए । भिसा आएपछि जम्मा दस हजार क्यानाडियन डलर बुझाउने सर्त थियो । यदी एजेन्ट थियो भने कि काम हुन्थ्यो कित पैसा फिर्ता आउथ्यो तर ति साथी पैसा पाएपछि एकाएक टाढा हुँदै गए । आज एक बर्ष पुग्यो, तर पैसा डुबेको छ । तेरो पैसा मैले चाहेमा खान सक्छु, तर खान्न, म दिन्छु भन्छन् तर दिने कहिले पत्तो छैन । जब छ महिना पुग्यो फेसबुक डिलेट गरेर सम्पर्क बिहिन भए । इमेल र स्काइपमा पनि रिप्लाई नै आउँदैन । नक्कली फेसबुक आइडी बनाएर बल्ल-बल्ल साथी मार्फत दुइ महिना पछि सम्पर्क गरेंपछि फेसबुक खोल्यो । अहिले त उल्टै धाक र धम्किपूर्ण कुरा गर्छन् । उल्टै किन फेक आइडी बनाइस ? त्यो मान्छेलाई म लिगल नोटिस पठाउछु भनेर थार्काउन खोज्छ । माओवादी द्वन्दकालमा प्रयोग गरिने खालका भाषा प्रयोग गरेर अहिले पनि उत्तर दिन्छ । 

माओवादी जनयुद्धमा बैंक लुटेको पैसा आफै लिएर भागेर पार्टी कारबाहीमा परेकाहरु पनि अहिले एक नम्वरी माओवादी कार्यकर्ता भएका छन् खैर ...... अझ उसको अरु साथीसंग त मलाइ त त्यो त जग्गा दलाली हो, फटाह हो, दुबई मान्छे ल्याउने दलाल हो, भनेर भन्दो रहेछ । जबकि आजसम्म कसैको एक रुपिया पनि खानु परेको छैन । भगवानको कृपाले मिहेनेत गरेर नै परिवार पालेको छु । आजसम्म जानेर कसैको मन दुखाएको छैन । सबैलाई सकेको मद्दत गरेकै छु । सुनेको छु उसले काठमान्डौमा दुइ ठाउँमा घडेरी किनेको छ रे । मसंग पैसा दिएको सम्पूर्ण प्रामाणहरु छन् र पनि म अहिलेनै उसको नाम सार्बजनिक गरेर उसलाई बदनाम गर्न चाहन्न । मेरो उद्दश्य भनेको आफ्नो पसिनाको कमाइ फिर्ता लिनु मात्र हो । तर उसले सोचेछ, म क्यानाडाको नागरिक भैसके त्यसले कसरी पैसा लिन सक्छ र ? उसले पैसा खाने नियतले पैसा लिएको रहेछ । तर कहिले न कहिले त नेपाल आउनु पर्ला नि ! जे होस्  ढिलै भएपनि नेपाल सरकारले यो प्रबिधि हाल्न लागेकोमा हामी जस्ता ठगिएका कयौं नेपालीहरुमा आफ्नो पैसा उठ्ला भन्ने आश पलाएको छ । अब त जुनसुकै अपराधी भएपनि नेपाल आउने बित्तिकै पक्रेर कारबाही गर्न सजिलो हुने भयो । त्यसैले ठगहरुले अब १० चोटी सोच्न बाध्य हुनु पर्ने भयो । त्यति मात्र होइन नेपाल र  भारत बीच खुल्ला सिमाना भएको हुँदा भारत भएर नेपाल छिर्न सक्ने अपराधीहरुलाई समेत दाएरामा ल्याउन सक्ने गरि व्यवस्था गरिनु पर्छ र भारतसंग समनन्वय गरेर भारतीय एरर्पोर्ट प्रयोग गर्दा समेत समातिने बाताबरण मिलाइनु पर्छ । यसको साथै अपराध गरेर वा ठगेर विदेश भागेको छ भने उजुरीको आधारमा उसको बैंक खाता वा चल-अचल सम्पति छानबिन नसकिएसम्म रोक्का गर्न मिल्ने कानुनि व्यवस्था हुनु पर्छ । अनि मात्र अपराधीलाई कानुनी दायरामा ल्याउन सकिन्छ ।

जसरि समाज र  प्रबिधि परिबर्तन वा बिकसित हुदै जान्छ, त्यसै गरि ठगहरुले पनि ठग्ने नयाँ-नयाँ तरिका अपनाउदै जान्छन । यस्तै ठगीको एउटा घटना मलाइ सम्झना आयो ।जापान, युरोप  वा अमेरिका जानका लागि मान्छे बिसौ लाख तिर्न तयार हुन्छन । करिब ३० लाख जन-शंख्या बसोबास गर्ने उपत्यकामा जापान जान पाहिन्छ भने पछि १० लाख खर्च गर्ने दुइ-चार सय मान्छे त हल्लाको भरमा सजिलै पाइन्छ । ऋण नै गरेर भए पनि पैसा तिर्न तमतयार हुन्छन । त्यस्तै एकजना जापान बस्ने मान्छेले जापान काम मिलाइदिञ्छु, काम नभए एक साल भित्र ग्यारेन्टीका साथ् सम्पूर्ण पैसा फिर्ता गरिदिन्छु भनेर ४० जनासंग १० लाखको हिसाबले ४ करोड उठाए छन् । अनि सम्पूर्ण पैसा एक बर्षका लागि १०% ब्याज आउने गरि फिक्स डिपोजिटमा राखेछन । अनि एक बर्षमा उनले दिमाख चलाएको भरमा ४० लाख कमाएछ । जब काम नबने पछि पैसा माग्न थालियो । उनले सम्पूर्ण रकम चेक मार्फत फिर्ता गरिदिएछन् । उनि एक बर्षमै ४० लाखका मालिक बनेछन् । त्यसैले सरकार र प्रशासन चनाखो भएर समय र परिस्थिति अनुसार आफ्नो सिस्टमलाई आधुनिक र अपग्रेड गर्दै लानुको बिकल्प छैन । यो कदमका लागि अध्यागमन बिभागलाइ मुरी-मुरी धन्यबाद ।   

- मिन बहादुर पण्डित (दुबईबाट) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!