मैले बुझेको ओली सरकार र उनका कमजोरी

Posted on: 25 Jul, 2016

अनिल अधिकारी |

सपना देखेकै कारण ओलीको ९ महिने सरकारले महान उपलब्धि गर्यो । तर ओलीका कुनैपनि कुरा सपना थिएनन् । ओलीका सबै कुरा इतिहाँसमा आइसकेका र इतिहाँसका राम्रा पक्षहरुको एउटा खोज थियो, जो देश बिकासका लागि सानदार थिए । त्यसैको बीचमा ख्याती कमाउन सफल फाइल थियो 'घर-घरमा ग्याँस' । यो चाहिँ कुनै बिदेशमा भएको कामबाट प्रभावित फाइल थियो । यो पक्षमा ओली सरकारलाई मैले राम्रो मान्नै पर्छ । किनकी बिकास र देशको निकासका लागि इतिहाँस र देश दुनियामा भएका राम्रा पक्षहरुको पानाहरु पल्टाउनै पर्छ र त्यस अनुसार कारवाही पनि अगाडी बढाउनै पर्छ । हुन सक्छ, ति बिकासका सपनायुक्त पानाहरु ओलीले बोलीका लागि वा एमाले र आफ्नै भोलीका लागि छाने तर बिकास हेर्न जनता कतिसम्म आतुर रहेछन भन्ने कुरा ओलीले सावित गरिदिए । 

ओली सरकारले बिकासका लागि यति धेरै फाइल पल्टायो कि जो हरेक भाषणका लागि भन्दै एउटा छानिएका हुन् वा गर्नकै लागि हुन् । जे हुन् देशको लागि गतिला खुराक हुन् । यो मानेमा पनि ओली सरकार प्रति जनता अन्धभक्त बने । 'ओलीनै राम्रा' यस मानेमा मानिए कि उनले देशको बिकासको फाइल पल्टाए जो धमिरा लाग्ने अवस्थामा थियो । यो मानेमा जनताको ओलीप्रतिको अन्धभक्ति स्वभाविक पनि छ ।

अब यहीनेर कुरा अर्को पनि छ, जसले ओलीका आलोचकहरुलाई बल मिल्यो । ओलीले तत्कालिन ब्यबहारहरु (जो त्यतिबेला आवश्यक थियो)का राम्रा फाइलहरु पल्टाउन सकेनन् । 

१. नाकाबन्दी, कालोबजारी र महंगी

नाकाबन्दी, कालोबजारी र महंगीले थलिएका जनतालाई उनले उपयुक्त ब्यबस्थापन गर्न सकेनन् । भूकम्प पिडितहरुको घर बनाउन ढिला भइसक्दा र आफैले हालेको भूकम्पको जग पुरिँदासम्म पनि ओलीले भूकम्प पिडितलाई जाडो छल्न भन्दै दिएको १०,००० भन्दा ठूलो राहत दिन सकेनन् । भूकम्प पिडितहरुको घर नबनेपनि ओली सत्तामै रहेको बेला धेरै 'अवसरवादी'हरुको घरहरु बने । धेरै तस्करहरुको घर बने । मधेस र पहाडमा इन्धन बेचेर कयौं मालामाल बने । डेढ/दुई महिनामै करोडपति बन्ने अवसर कयौंलाई मिल्यो । ग्यास र खाने कुराको अभावमा गरिव जनताले भोग्नुसम्मको सास्ति भोगे । १७ दिनसम्म रात/दिन जाबो एउटा सिलिन्डरको लागि लाइन बस्नुपरेको, दिनरात गाडी चलाएर छाक टार्नेहरुले २० दिनसम्म इन्धनकै लागि लाइन बस्नु परेको, गाँसनै बन्द हुने अवस्था आएपछि लाखौँ जनताले संघर्ष गरेको, लाखौँ बालबालिकाले नाकाबन्दी बिरुद्ध काठमाडौँको चक्रपथ घेराउ गरेको, हरेक नेपालीले नुनदेखि सुनसम्ममा दोब्बर भन्दा बढी पैसा खर्च गर्नु परेको... यस्तै-यस्तै कयौं दु:खहरु जसलाई प्रधानमन्त्रीले एकै वाक्यमा भुलिदिएर भने -'नाकाबन्दिको अन्त्य हामीले गर्यौं ।' ओली यहीनेर चुकेका छन् । उनले केहि गरेका होइनन् । नाकाबन्दी हट्नुको पछाडी नेपाली जनताको राष्ट्रबादको ठूलो हात छ । नाकाबन्दीपछी कालोबजारी र घुषखोरीहरुको निकै बिगबिगी बढेको थियो जसको नियन्त्रणमा ओली सरकार चुकेकै कारण ओलीले तत्कालिन समस्यासँग खेल्न नसकेकै हो । उनले घर-घरमा ग्यासको पाइप जोड्ने कुरा निकै आलोचित बन्यो । यस अनुसार उनले केहि काम गर्ने प्रयत्न गरे तर त्यसले कुनै अर्थ राखेन । 

अर्को कुरा उनले राष्ट्रबाद देखाउन भारतसँग हठ प्रवृत्ति राखे । जुन भारतको नेपालप्रति ब्यबहार अनुसार ठिक प्रतिउत्तर भएपनि नेपालले आफ्नो पक्षलाई बलियो बनाएर मात्र भारतसँग यस्तो ब्यबहार गर्न उपयुक्त थियो । अधिकांश कुरामा भारतसँग निर्भर भएको हाम्रो जस्तो मुलुकले आफूलाई बलियो स्थापित नगरी वा भारत बाहेक अर्को मुलुकसँगको सम्झौता कार्यान्वयनमा नल्याई जोरी खोज्नु समय भएको थिएन । त्यसैले नाकाबन्दीमा देशलाई टिकाउन सक्नु ओलीको शाहस सर्हानिय भएपनि उनकै पालामा भएको भारतप्रति जनताको नजर विभेदमा पारिदिनु राम्रो अभ्यास थिएन । एउटा कुशल नेता हुनको लागि छिमेकीसँगको सम्बन्ध नकारात्मक नभई रचनात्मक हुनु आवश्यक छ । 

२. भेदभावको राजनीति 

सरकारले तत्कालिन कार्यनीतिसंगै त्यसले भविष्यमा पार्न सक्ने कुराको पनि हेक्का राख्नुपर्छ । तत्कालका लागि नाकाबन्दिको बिरोध गर्दै बुझ्रुक जनताको फेसबुक/ट्वीटरमा मधेसका आन्दोलनकारीहरुलाई निसाना बनाउँदै लेखिए 'धोतीलाई जिउँदै जलाईदे !, गोली ठोक !' यस्तै यस्तै.. ! कसलाई ठोक्ने गोली ? एउटा नेपालीले अर्को नेपालीलाई ? 

हुनसक्छ मधेशमा उक्सावटको राजनीति चलेको थियो । त्यसो भन्दैमा मधेसी भनेर 'धोति/मधिसे' अनि पहाडिया भनेर 'पाखे/पहाडी/बाउन' भनेर हेप्न पाइन्छ ? यो कस्तो राष्ट्रियता ? तिनै जो मधेसीलाई धोति वा पहाडीलाई पाखे देख्छन् आज उनै राष्ट्रभक्त ? ओली सरकारकै नीतिको कारण यो भावना जनतामा बिकास भएको थियो । उनले उपयुक्त निर्णय लिन नसक्दा वा तराइका नेताहरुलाई आफ्नो समर्थनमा लिन नसक्दा उनकै पालामा तराइसँग छुवाछुतको भावना मौलायो । जसको प्रभाव इतिहाँससम्म पनि मेट्न कठिन छ । ओलीको नीति भारत र तराइलाई भड्काउने जस्तो मात्र रह्यो । तर ओलीले नेपालको आफ्नो पोल्टा बलियो बनाएर मात्र छिमेकीसँग जोरी खोज्नुपर्छ भन्ने कुरा बिर्सिए । रह्यो नाकाबन्दीमा टिकेको कुरा, नाकाबन्दीमा सरकार निकै लाचार भएको थियो, कालोबजारी र ब्याप्त घुषखोरीलाई अन्त्य गर्न सरकारले सकेको थिएन । तर जनताले सरकारलाई भारतसँग कुनै सम्झौता नगर्न बल प्रदान गरेकै कारण ओली सरकार चुप रह्यो । पछी भारतले नेपाली जनताप्रति नाकाबन्दीलाई लिएर निकै भारत बिरोधि भावना बढेको बुझेर नाकाबन्दी खुकुलो बनाईदियो । 

३. गोप्यता भन्दा लोकप्रियता ! 

ओली सरकारले जे जति गर्यो सबै लोकप्रियताकै लागि गरेको हो भन्न सकिन्छ किनकि कतिपय गोप्य कुरा पनि हुन्छन् जो सरकारले आवश्यक परेको बेलामा मात्र खोल्न सक्छन तर ओली सरकारले जे गर्दैथियो त्यो गर्नु अगावै बोलेको थियो । २०४५ सालमा तत्कालिन राजा बिरेन्द्रले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन अन्तर्राष्ट्रियस्तरमा टेन्डर गरे । उक्त टेन्डर निकै गोप्य राखिएको थियो । उक्त कुरा राजा, त्यतिबेलाका प्रधानमन्त्री मरिचमान श्रेष्ठ र तत्कालिन आपूर्ति मन्त्रीलाई मात्र थाहा थियो । तर ओली सरकारले यो बिषय काम गर्नु अगावै बोलेर वाहवाही र स्याबासी पायो । त्यस्तै नेपालमा युरेनियमको खानीको बिषयमा राष्ट्रिय रुपमा गोप्य खोजको बिषयलाई ओली सरकारले नै संसारमै जानकारी दियो, जुन निकै गलत अभ्यास थियो । नेपालमा यी-यस्ता खानीहरु छन् भनेर अरुलाई देखाएर चलखेलको वातावरण सिर्जना गर्नुको सट्टा गोप्य रुपमा ति खानीहरु उत्खननमा आफ्नो शक्ति र स्रोत जुटेपछि मात्र यो कुरा सार्वजनिक गरिनुपर्थ्यो, यो बिषयमा सरकारले गरेको खुलम-खुला भाषण र गरिएको गोप्यता भंगको बिषयमा सैनिक उच्च अधिकारिहरु पनि असन्तुष्ट छन् । गोप्यताको धैर्यता ओली सरकारमा भएन । उसले लोकप्रियताको लागि बिभिन्न गोप्य बिषयलाई पनि आफ्नो भाषणको मुद्धा बनाइदियो । 

४. लोडसेडिंगको एक बर्षमै अन्त्य 

केपी ओलीको कतिपय भाषण यसरी छानिए जो सम्भावनामै तैरिएका छन् । 'नेपालमा ८३ हजार मेगावाटको क्षेमता छ' भन्दै गर्व मात्र बोकेर हिड्न जानेका हामी नेपालीलाई ओलीले दिनुसम्मको आश्वासन दिए । हामी नेपालीलाई उनले एकै बर्षमा लोडसेडीङ मुक्त पार्छु भनेर निकै नयाँ कुरा गरिदिए । जो यस अघिका कुनैले बोलेका थिएनन् । प्रधानमन्त्री केपी ओलीले एक बर्षमै लोडसेडिंगको अन्त्य गर्छु भनेर बोले तर ब्यबहारमा गरेनन् । एक बर्षमै लोडसेडिंगको अन्त्यको लागि भारतबाट बिद्युत किन्ने सोच बनेको चाही देख्न सकिन्छ । ओलीले भारतसँगै निर्भर भएर एक बर्षमै लोडसेडिंगको अन्त्य गर्छु भनेका थिए वा नेपालबाट बिजुली निकालेर अन्त्य गर्ने भनेका थिए बुझ्न नसकिने कुरा छ । नेपालकै स्रोतबाट एक बर्षमै लोडसेडिंग अन्त्य गर्छु भनेका थिए भने पूर्वाधार केछ खै ? अहिलेसम्म त्यसको लागि कुनैपनि उपलब्धि देखिएको छैन् । उल्टो असार-साउनमा समेत चर्को लोडसेडिंग जनताले भोग्नुपरेको अवस्था छ । अझ बिज्ञहरुले भनेको कुरा सुन्ने हो भने अहिलेकै स्थितिले काम गर्ने हो भने अबको पाँच बर्षमा पनि लोडसेडिंगको अन्त्य गर्न सकिन्न । सायद ओलीले भाषण दिंदा बिज्ञहरुसँग सल्लाह लिएका थिएनन् । ८२ प्रतिशत नेपालीहरु अहिले पनि परम्परागत उर्जा 'दाउरा' मा भर पर्छन भने बिध्युतिय उर्जाले कुल २ प्रतिशत मात्रै स्थान ओगटेको अवस्थामा ओलीले एक बर्षमै लोडसेडीङ अन्त्य गर्छु भन्नु मह्त्वाकांछ्यानै थियो । यो बर्ष १४ सय ५० मेगावाट बिजुलीको माग भएको अवस्थामा नेपालले जम्मा ६ सय मेगावाट मात्र उत्पादन गर्न सकेको छ भने २९० मेगावाट भारतसँग किनिएको छ । जसमा प्रधानमन्त्रीले बाँकी ५ सय ६० मेगावाट बिजुली कहाँबाट ल्याउँथे अबको केहि महिनामा ? त्यसबाहेक लोडसेडिंग हटाउने बिकल्पमा रहेका बिभिन्न कुराहरुमा पनि सरकारले ठोस कदम चाल्न सकेको देखिएन । सपना नै देख्ने हो भने पनि यस अघिको सरकारले प्रस्ताव गरेको र निर्माणमा रहेका धेरै आयोजनाहरु छन् जसले देशलाई बिद्युतमा सक्षम बनाउन सक्छ, जसमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी, ६० मेगावाटको त्रिसुली थ्री लगायत छन्, जो अझै २/३ बर्षमा आउन सक्लान । अझै लामो समय कुर्ने हो भने देशलाईनै बिद्धुत बिकासमा उचाल्ने १२०० मेगावाटको बुढीगण्डकी आयोजना लगायत अन्य ठूला आयोजना छन् । त्यसैले प्रधानमन्त्री ओलीको गफले मात्र एकै बर्षमै लोडसेडिंग हट्दैन थियो । यदी हट्थ्यो भने पूर्वाधार खै ? सन्दर्भ यही जोड्नु उपयुक्त छ, गफैले हाक्ने ओलीले आजभन्दा १५ बर्ष अघि महाकाली सन्धि गरेर नेपालले बर्षेनी खरबौं आम्दानी गर्ने घोषणा नै गरिदिएका थिए । 

५. पुन:र्निर्माणमा असफल 

भूकम्पको त्यो बैशाख १२ नेपालको इतिहाँस बनेर गयो तर जनता अझै पनि पालमा छन् । एउटा दशैं, एउटा जाडो र दुई बर्षे झरीमा आफुलाई पालमुनि पाएका जनताले अझै पनि अर्को दशैं आउनै लाग्दा आफ्नो लागि बस्ने सुरक्षित घर पाउन सकेका छैनन् । मुख्यत: २०७३ को बैशाख १२ गतेको जनताको घरको पुनर्निर्माणको थालनी मात्र नभई एतिहांसिक महत्वका पुनर्निर्माणलाई समेत ओली सरकारले अघि बढाउन नसक्नु निकै असम्बेदनशील बनेको भन्न सकिन्छ । प्रधानमन्त्री ओली आफैले उद्घाटन गर्दा हालिदिएको जनताको घरको जगसमेत पुरिँदा ओली सरकार कति सफल भयो आफै अनुमान गर्न सकिन्छ । सरकारले गरेको सर्वेक्षणमा आधाजसो पिडित जनताको घर छुटेर काम अधुरो छोडिएको छ भने सभा ५ लाख भन्दा बढी घरमध्ये जम्मा ३५ हजार २ सय ९२ ले मात्र रकम पाएका छन् । सरकारको कामको गतिलाई हेर्दा सरकार भूकम्प पुनर्निर्माणमा समेत त्यति जिम्मेवार नभएको स्पष्ट छ ।

यस लगायत ओली सरकारको केहि आलोचना छन् जस मध्ये ओली सरकारले अविश्वासको प्रस्ताव पछी मात्रै कुनै कार्यविधि बेगर नै करोडौंको रकम आर्थिक सहायताको नाममा आसेपासेहरुलाई बाडेको छ । त्यस्तै चार वर्ष अघि गोली हानी व्यवसायी लुट्ने घटनाका मुख्य योजनाकारलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बाँकी कैद मिनाह गर्ने निर्णय गरेकी थिइन् । 

६. जनताको दु:खमा हास्यव्यङ्ग्य  

केहीलाई लाग्छ, ओलीको ९ महिने कार्यकाल निकै हास्यव्यङ्ग्य र रोमान्चक रह्यो । जनतालाई उनले यति मिठो आश्वासन दिए जसको प्रभावले सोझा जनताको मन पनि तानिए । सुरुमा बोल्दा फेसबुक र ट्विटरमा अभ्यस्त नेपालीहरुलाई 'हावा' लाग्ने ओली एकाएक 'हिरो' बने, अरु सबै ओलीका बिरोधीहरु 'जिरो' बने । यस्ता लाग्थे, ओलीले हरेक भाषणमा सपना बाँडे जो कतिपय इतिहाँसमा भएका राम्रा कामबाट छानिएका थिए । जे होस् ओलीले निकै दु:खद नाकाबन्दी, महंगी र अब्यबस्थामा संघर्ष गरेको देशलाई बिभिन्न भाषण मार्फत हसाईराखे । जनतालाई आशामा भुलाई राखे, अनि केपीको नामनै नसुनेकाहरुलाई पनि ऐनाझैँ मुहारनै कण्ठ बनाउन सके । 

जनताको मानसिकतालाई अन्धभक्त बनाउन सफल बनेका ओलीले अब चुनौतीको सामना गर्नुपर्ने बेला थियो तब उनको सरकार ढाल्ने तानाबाना उनकै पार्टीबाट पनि बुनिए र बाहिर अरु पार्टीबाट पनि राजनैतिक शक्तिको लागि ओली चुनौतीको रुपमा खडा भए । 'ओली हटाउ नत्र तिमीहरु सकिन्छौँ !' यस्तै मानसिकता पाएर हुनसक्छ, एमाले बाहेकका शक्तिहरु ओलीले जनतालाई बनाउन सफल बनेको अन्धभक्तको कारण आक्रान्त बने । राजनीतिको परिस्थिति एमालेका लागि जताबाट पनि पासा पल्टिने खालको बन्यो । तत्काल सत्ता छोडे फाइदै-फाइदा, सत्ता नछोडे पनि १/२ बर्षलाई पुग्नेगरि ओलीले भाषण दिईसकेका थिए । एमालेलाई सत्ता छोड्नु ठूलो फाइदा थियो । बाडेको सपना पुरा गर्ने बेलामा उसले आन्तरिक समन्वयलाई बलियो बनाउन चाहेन । यसैत सल्लाहाकार सहित जम्बो सचिवालय बनाएका प्रधानमन्त्री ओलीको आन्तरिक समन्वय निक्कै कमजोर थियो । त्यसमा पनि पछिल्लो पटक एमालेले आफूसँग समन्वयमा रहेकालाई टेरपुच्छर लगाएन । ओली आफ्नै हठमा लागेपछी मुख्य शक्ति असन्तुष्ट बन्यो । प्रधानमन्त्री ओलीको निरन्तर हठपछी उनको नेतृत्व स्वीकार्य रहेन । माओवादी बाहिरियो । ओली सरकारमाथि बहुमत पुग्ने गरि अविश्वासको प्रस्ताव दर्ता भयो ।

यसरी, कतिपय सकारात्मक काम गर्दा-गर्दै पनि ओलीका कतिपय कामहरु आलोचित बने । ओलीले तत्कालिन समन्वयलाई हेर्न जोडबल त्यति गरेको देखिएन । जसको कारण उसले सरकारबाट बाहिरिनु पर्यो । भविष्यको बिकासका लागि राम्रो बिकासको ठेली पल्टाउन सफल ओली सरकारले तत्कालको अवस्थालाई पनि राम्ररी बुझ्न सकेको थियो भने आज काम चलाउ बन्नुपर्ने थिएन । ओली केहि कुरामा आलोचित बनेपनि धेरै कुरामा अब्बल रुपमा रहे । जनताको आशाको केन्द्रमा रहेका ओलीले जनतालाई आशाको पुष्पपुन्ज मात्र छरेनन् देशमा थुप्रै सम्भावना छन् भन्ने देखादिए । साथै संसद बैठकमा सबैलाई साक्षी राखेर अब बन्ने सरकारलाई समेत च्यालेन्ज दिएर गए ।  जे होस् बिकासको राजनीति ओलीले सुरु गरेका छन् अब हरेक सरकार बिकासमा प्रतिष्पर्धी बन्नु आवश्यक छ । नौ महिने ओली सरकारलाई बिशेष धन्यवाद ! नयाँ बन्ने सरकारले ओलीको सकरात्मक र दिर्घकालीन बिकासका फाइललाई बन्द नगरोस्.. साथै देशको बिकासका योजनाबद्ध कामहरु गर्न सकोस् | शुभकामना !! 

यस बिषयमा तपाइको प्रतिक्रिया...!