कृषकलाई ऋण पत्याउदैनन् बैकहरु,कृषि अनुदान कर्जा पाउने जिल्लामै दुई फर्म

Posted on: 16 Sep, 2016


भाद्र ३१ पर्वत
। जिल्लामा व्यावसायिक पशुपालन कृषकहरुको संख्या गत वर्ष भन्दा अहिले वृद्धि भईरहेको तथ्यांक छ । संख्या वृद्धि भएपनि कृषकलाई बैकहरु ऋण पत्याउदैनन् ।
    अचम्म लाग्दो त के छ भने कृषि अनुदान कर्जा अर्थात् ऋण पाउने भाग्यमानी कृषकको संख्या पर्वतमै दुई जना मात्र रहेको छ । कृषि अनुदान कर्जामा वैकले ६ प्रतिशत मात्र व्याज लिने गर्दछ । कृषि विकास वैक कुश्मा शाखावाट कुनपा १३ स्थित     तिवारी गाई फार्मले ३५ लाख र वाणिज्य वैकबाट कुश्मा नगरपालिकाकै वैशाली बाख्रा फार्मले ३० लाख सस्तो व्याजमा कर्जा लिएको पाइन्छ ।
    कर्जा लिनका लागि घर र प्रर्याप्त जग्गा धितो वैकले खोज्ने हुँदा गाउँका कृषक मर्कामा परेका हुन् । पर्वतस्थित तिलाहार १ मा प्रगति गाई फर्म संचालन गर्दैै आएकी हिम    कुमारी क्षेत्रीले उन्नत गाईको संख्या बढाउन चाहन्छिन् । यसका लागि क्षेत्रीलाई रकम चाहिएको छ । उनले कृषि अनुदान कर्जा लिन जिल्ला कृषि विकास वैंक धाउन लागेको एक वर्षभन्दा बढी भयो । उनले ऋण पाएकी छैनन् । कृषक क्षेत्री भन्छिन्,‘सस्तो व्याजमा ऋण पाएदेखि फर्ममा केही थप गाई खरीद गर्न चाहन्थे ।’ 

त्यसैगरी डिमुवा कृषि फार्म संचालक कृषक याम बहादुर केसी युवा कृषक हुन् । कृषक क्षेत्रीले पनि आफ्नो फार्मको विस्तार गर्न चाहन्छन् तर उनीसँग आर्थिकको अभाव छ । कृषक क्षेत्री भन्छन्,‘लगानी गरी फार्म विस्तार गर्न मन थियो तर के गर्नु ? मेरो नाममा जग्गाको लाल पुर्जा छैन । बैकले प्रर्याप्त धितो विना ऋण नै दिदैन ।’ पर्वत नमूना गाईपालन फार्म संचालन गरेर व्यवसायिक कृषक बनेका कुश्मा नगर १४ का अशोक पौडेलको पनि उही एउटै गुनासो छ । कृषक क्षेत्री गुनासो गर्दै भन्छन् ‘सस्तो व्याजमा वैकले ऋण नै पत्याउदैनन् ।’ यी त केही उदाहरण पात्र हुन् । जिल्लाका धेरै व्यवसायिक कृषकहरु यस्ता छन् । जसले सस्तो व्याजदरमा बैकले ऋण दिने हो भने आफ्नो पशुपालन फार्मलाई विस्तार र विकास गर्न चाहन्छन् । बैकहरुले कृषि क्षेत्रमा लगानी गरेको रकम केवल बजार केन्द्रित रहेको भन्ने गाउँका कृषकहरुको बगुनासो छ । कृषकहरुले ऋण लिने प्रक्रिया समेत झन्झटिलो भएको दुःखेसो गर्छन् ।


    जिल्ला पशु कार्यालय पर्वतका पशु विकास अधिकृत विष्णु बहादुर पाण्डेका अनुसार व्यावसायिक पशुपालन कृषकहरुको संख्या गत वर्ष ७७ जना रहेकोमा अहिले वृद्धि भई १६७ पुगेको छ । जिल्लामा व्यवसायिक गाई भैसी फार्म र बगुंर फर्महरु गरी १६७ वटा पुगेको हो भने कुखुरा फर्मको संख्या पनि जिल्लाभर गरी १०० भन्दा माथि नै रहेका छ । व्यवसायिक पशुपालन फार्म र कुखुरा फार्मको संख्या वृद्धि भएसँगै कृषकहरुको आम्दानी बढेको छ भने थप रोजगारी अवसर सृजना भएको छ । कृषि विकास वैंकले सस्तो व्याजदरमा कृषकलाई ऋण दिने भने पनि सस्तो व्याजदरमा ऋण पाउने फर्मको संख्या तीन वटा मात्र रहेको हो । कृषकहरुलाई संचालन गर्ने कृषक राज्यले व्यावसायिक कृषि र पशु जन्य उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्ने र रोजगारी सृजना गर्ने भन्दै आएपनि कृषकहरुले सस्तो व्याजमा ऋण लिई लगानी वृद्धि गर्न सकेका छैनन् । अधिकांश कृषकहरुको गुनासो सस्तो व्याजमा ऋण नपाउने, कच्चा पदार्थको अभाव, यातायातको असुविधा, प्रविधिको कमी लगायत छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!