जन्ममिति विवादमा फस्ने भएपछि नेपाली सेनाका उपरथी पाण्डेले दिए राजीनामा

Posted on: 10 Nov, 2023

कार्तिक २४, काठमाडौँ | जन्ममिति विवादमा फस्ने भएपछि नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। सैनिक उच्च स्रोतका अनुसार पाण्डेले बिहीबार साँझ प्रधान सेनापति प्रभुराम शर्मालाई राजीनामा बुझाएका हुन्। 

उमेर कम देखाउन नागरिकता लगायत कागजात कीर्ते गरेको आरोपमा जंगी अड्डाले छानबिन सुरु गरेपछि पाण्डेले राजीनामा बुझाएका हुन्। रथी बढुवाको बेला पाण्डेले नागरिकता लगायत कागजात कीर्ते गरेको भन्दै जन्ममिति विवाद सतहमा आएको थियो। 


प्रधान सेनापति शर्माले पाण्डेलाई रथीमा बढुवा गर्ने तयारी गरेका थिए। तर बलाध्यक्ष रथी सीताराम खड्काले जन्ममिति विवाद भएको भन्दै बढुवा समितिमा असहमति जनाएका थिए।

अख्तियारले समेत यो विषयमा चासो राख्दै जन्ममिति विवाद छानबिन गर्न भन्दै निर्देशन दिएको थियो। नेपाली सेना भित्रको विषयहरु अख्तियारले हेर्न नमिल्ने भएकाले मुख्यालयलाई नै छानबिन गर्न भन्दै निर्देशन दिइएको थियो।

छानबिनका क्रममा पाण्डेका २ वटा फरक फरक जन्ममिति भएका नागरिकता भेटिएको थियो। शैक्षिक योग्यताको प्रमाणपत्र समेत केरमेट भएको भेटिएको थियो। रथीमा बढुवा भएर प्रधान सेनापति बन्ने लाइनमा रहेका भनिएका उनले जन्ममिति नै कीर्ते गरेको आरोप लागेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!