सीजी टेलिकमको लाइसेन्स खारेज

Posted on: 15 Dec, 2023

मङ्सिर २९, काठमाडौं | चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । मोबाइल सेवा विस्तारका लागि आधारभूत टेलिफोन सेवाको लाइसेन्स खोजिरहेको कम्पनीले समयमा नवीकरणका लागि आवेदन नदिंदा लाइसेन्स स्वतः खारेज भएकाे नेपाल दूरसञ्चार प्राधिकरण स्रोतले जनाएको छ ।

‘नवीकरणका लागि तोकिएको अवधिमा आवेदन नआएपछि लाइसेन्स स्वतः खारेज भएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘यसको जानकारी कम्पनीलाई आइतबार दिइने छ ।’

सीजी टेलिकमले २०६० मंसिर ५ गते नेपाल दूरसञ्चार कम्पनीबाट ग्रामीण दूरसञ्चार सेवाका लागि अनुमति पाएको थियो । अनुमतिपत्र प्राप्त गर्दा उल्लेख गरिएको सर्तमा कम्पनीले 'लेटर अफ क्रेडिट' बुझाएपश्चात मात्रै अनुमतिपत्र कायम हुने भनी उल्लेख गरिएकाले पहिलो पटक नवीकरण गर्दा मंसिर १६ (डिसेम्बर २) को मिति कायम भएको थियो ।

सोही आधारमा मंसिर १६ गतेभित्र कम्पनीको चौंथो नवीकरण हुनुपर्ने थियो । तर, कम्पनीले समयमा आवेदन नदिंदा दूरसञ्चार ऐनमा भएको व्यवस्था अनुसार कम्पनी खारेज हुन पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!