राजधानी काठमाडौँबाटै केवलकारमा सरर...

Posted on: 24 Aug, 2016

सिबी अधिकारी/भदौ ८, काठमाडौँ । राजधानीबाट केवलकार यात्रासँगै प्रकृतिसँगै रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई नयाँ उत्पादनको विकास भएको छ । 

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय क्षेत्र चन्द्रागिरिमा केवलकार सञ्चालन भएपछि पर्यटनको नयाँ गन्तव्य थपिएको हो । केवलकारले स्थानीय बासिन्दाको आर्थिक गतिविधिमा बढोत्तरीसँगै मुलुकको राजस्व वृद्धिमा उल्लेख्य योगदान रहने भएको छ । 

राजधानीको निस्यासिदो वातावरणबाट नजिकै रहेको प्रकृतिसँग रुमलिने रहर सायदै कम होला । प्रकृतिसँग रमाउन चाहने जोकोहीलाई सहजै रुपमा छोटो समयमा केवलकारको सरर यात्राले आनन्दित तुल्याउँछ । चुरे पहाडको सदाबहार घनघोर जङ्गलले चन्द्रागिरिको सौन्दर्यलाई उत्तिकै आकर्षण थपेको छ, यसैको आकर्षणले उल्लेख्य सङख्यामा पर्यटक चन्द्रागिरि पुग्ने गर्छन् । 

चन्द्रागीरिबाट अन्नपूर्ण श्रृङ्खलादेखि सगरमाथासम्म एकसय ८० डिग्रीको कोणबाट सहजै दृश्यावलोकन गर्न सकिन्छ । चन्द्रागीरि हिल्स लिमिटेडले कुल रु तीन अर्ब ५० करोडको लगानीमा केवलकार निर्माण गरेको हो । कुल ३६ हेक्टर क्षेत्रफलमा निर्माण भएको सो केवलकारको लम्बाइ २.५ किमी रहेको छ । 

करिब नौ मिनेटको केवलकारयात्रामा समुद्री सतहदेखि दुई हजार ५०० मिटर उँचाइमा रहेको चन्द्रागीरि डाँडा पुगिन्छ । केवलकारको जम्मा ११ वटा टावर (रिले स्टेसन) रहेका छन् भने ३६ वटा डिब्बा रहेको उक्त केवलकारको प्रत्येक डिब्बामा आठजना यात्रु अट्छन् । सरकारसँग ४० वर्षका लागि जग्गा भाडामा लिएर कम्पनीले केवलकार सञ्चालन गरेको हो । 

वैशाखको पहिलो सातादेखि केवलकार सञ्चालन भए पनि गत साउन २४ गते भालेश्वर महादेवको प्राण प्रतिस्थापन गरेर सर्वसाधरणको लागि खुल्ला गरिएको हो । अहिले परीक्षणको रुपमा सञ्चालन भएको केवलकार करिब एक महिनापछि भव्य समारोहकाबीच उद्घाटन गरिने कम्पनीका बजार व्यवस्थापक विख्यात विक्रम राणाले राससलाई जानकारी दिए । 

उनले देशलाई पर्यटनको नयाँ गन्तव्य दिने र पर्यटनको माध्यमबाट आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले केवलकार सञ्चालन गरिएको बताए । दैनिक तीन हजारले यात्रा गर्ने कम्पनीको लक्ष्य छ । केवलकारको दुईतर्फी भाडा नेपालीका लागि रु ७०० र विदेशीका लागि २२ अमेरिकी डलर कायम गरिएको छ । तीन वर्षमुनिको बच्चालाई निःशुल्क, शारीरिक अशक्तता भएका व्यक्तिलाई ५० तथा ज्येष्ठ नागरिक, विद्यार्थी र स्थानीयवासीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको व्यवस्थापक राणाले बताए । 


हाल केवलकारबाट करिब एकसय २० जना तथा रिसोर्टसहित गरी करिब ४०० जनाले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाउने कम्पनीको दाबी छ । चन्द्रागीरि डाँडामा केवलकारको मुख्य कक्ष, टर्मिनल भवन, भालेश्वर महादेवको मन्दिर, भ्यूटावर, थिएटर र सम्मेलन हल निर्माण गरिएको छ । 

कामको थकानबाट शरीरलाई आनन्दको अनुभूति दिलाउन तथा उपत्यका र आसपासका रणमीण दृष्य तथा हिमालको अवलोकन गर्ने उपयुक्त गन्तव्यका रुपमा चन्द्रागीरिलाई लिइन्छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वको चन्द्रागीरि डाँडामा केवलकार सञ्चालनले आसपासका क्षेत्रको समेत महत्व बढेको छ । 

पर्यटकीय क्षेत्र चन्द्रागीरि प्राकृतिक सम्पदाको सौन्दर्यमात्र नभइ त्यहाँ निर्माण गरिएका आधुनिक भौतिक पूर्वाधारका संरचनाले थप चम्काएको छ । अत्याधुनिक प्रविधियुक्त उक्त केवलकार अस्ट्रियाको ख्यातिप्राप्त केवलकार निर्माता कम्पनी ‘डोपलमेयर’ले निर्माण गरेको हो । 


भालेश्वर महादेवको ऐतिहासिक महत्वलाई कायम राख्न भालेश्वरको शीलालाई सुरक्षित राखेर नयाँ शैलीको मन्दिर बनाइएको छ । भ्यूटावरमा टेलिस्कोप राखिनेछ । केवलकारको सुरक्षालाई मध्यनजर गरी हालसम्मकै उच्च प्रविधि अपनाइएको कम्पनीका अर्का बजार व्यवस्थापक इन्दिरा पौडेलले जानकारी दिनुभयो । चन्द्रागीरि परिसरमै पाँच तारे होटलस्तरको रिसोर्ट निर्माण भइरहेको छ । 

व्यवस्थापक पौडेलका अनुसार २०६६ सालमा काठमाडौँ फनपार्क प्रालिको नाममा दर्ता भएको चन्द्रागीरि केवलकार अहिले चन्द्रागीरि हिल्स लिमिटेडमा दर्ता गरिएको छ । चन्द्र ढकाल नेतृत्वका आठजना व्यवसायीको सक्रियतामा केवल सञ्चालन गरिएको हो । 

आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा रहेको चन्द्रागीरि धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले मात्र नभइ पदयात्रा र इको पर्यटनका लागि पनि उपयुक्त मानिन्छ । करिब डेढ घन्टाको पैदल यात्रापछि जङ्गलमा आकर्षक चराचुरुङ्गी र जङ्गली जनावरको दृश्यावलोकन गर्दै चन्द्रागीरि डाँडामा पुग्न सकिन्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!