बालुवाटार प्रदर्सनमा गएका डा. केसीले दिए सरकारलाई कडा चेतावनी

Posted on: 20 Aug, 2016

भदौ ४, काठमाडौँ । चिकित्सा क्षेत्रमा भएको विकृति र बेथितिविरूद्ध आठ पटकसम्म अनशन बसी लड्दै आएका डा गोविन्द केसीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका छन् । 

प्रदर्शनमा उपस्थितलाई सम्बोधन गर्दै डा केसीले सरकारले आफूसँग गरेका माग कार्यान्वयन नगरी बेवास्ता गरेमा पुनःनवौँपटक आमरण अनशन बस्ने चेतावनी दिए । 

उनले लोकमानलाई बिरालोको संज्ञा दिंदै भने, ‘लोकमान बिरालो हुन्, धेरै सांसद दुलोमा छन्,’ । केसीले सांसद यदि कायर छन् भने उनीहरूलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताए। ‘ठूला दलका नेताहरूले लोकमानलाई नियुक्ति गरेकोमा प्रायश्चित गर्नुपर्छ । लोकमानलाई हटाउनुपर्छ। हटाएनन् भने समय आउँछ, उनीहरू आफैं हट्नेछन्,’ केसीले भने । 

अख्तियार प्रमुख कार्की भ्रष्टाचारी भएको भन्दै केसीले लोकमानले करोड भ्रष्टाचार गर्नेलाई छुँदै नछोएको आरोप समेत लगाए । लोकमानले आफ्नो र आफ्ना नजिकका मान्छेको निहित स्वार्थका लागि काम गरिरहेकाले पदबाट हटाउनुपर्ने बताए ।  उनले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य शिक्षामा सबैको पहुँच हुनुपर्ने माग गर्दै सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

यस्तै नेपाली काँग्रेसका सांसद सुरेन्द्र चौधरीले आफूहरु पनि भ्रष्टाचार र माफियातन्त्रको विरोधमा रहेको भन्दै डा. केसीका माग जनतामुखी भएकाले संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको महाअभियोगसम्बन्धी छलफल गराउने प्रतिबद्धता व्यक्त गराए । 

यस्तै प्रदर्शनमा लेखक खगेन्द्र सङ्ग्रौलाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले क्षेत्राधिकार बाहिर गएर काम गरिरहेको भन्दै सांसदहरुले यस विषयमा आवाज नउठाउनु लोकतन्त्रमाथिकै कुठाराघात भएको धारणा राराखे । प्रदर्शनमा १०० भन्दा बढी व्यक्तिको उपस्थिति थियो । 

उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड, पम्प्लेटसमेत बोकेका थिए । उक्त विरोध कार्यक्रमका क्रममा निषेधित क्षेत्रमा प्रदर्शनकारी पस्नसक्ने भन्दै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!