‘सदन सरकार बनाउन र गिराउन व्यस्त : बाढी डुबान र पहिरोले जनता बिचल्ली’

Posted on: 26 Jul, 2016

साउन ११, काठमाडौँ । निरन्तरको अविरल वर्षाले देशभरका विभिन्न भूभाग डुबान र पहिराको उच्च जोखिम परेका हुँदा स्थानीय समुदायलाई उद्धार गर्न र बाढीपहिराले पु¥याएको जनधनको क्षति, उद्धार तथा राहतका बारेमा सदनलाई जानकारी गराउन सांसदहरुले सरकारसित माग गरेका छन् । 

व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा उनिहरुले सदन सरकार गिराउन र बनाउन व्यस्त रहेको भन्दै बाढीपहिरो, डुबानपीडित जनतालाई सरकारले उद्धार गर्नु त परै जावोस् राहत पुर्याउन समेत ध्यान नदिएको गुनासो गरे । 

सभामुख ओनसरी घर्तीसित समय लिई सांसदले बाढीपीडित जनताले एक मुठी चामल, नुन, त्रिपाल देऊ भन्दा पनि सरकारको उपस्थिति नरहेकामा आपत्ति जनाइन । बाढी, डुबानपीडित जनतालाई राहत दिन सरकारलाई रुलिङ गर्न समेत उनिहरुले माग गरे । 

सांसद रामकृष्ण यादवले तराईका अधिकांश जिल्ला डुबानमा परेकाले डुुबान तथा बाढीपीडितलाई सरकारले राहत पु¥याउन नसकेको आरोप लगाए । सांसद वैजनाथ चौधरीले सिरहा र सप्तरीका सबै भूभाग डुबानमा परेको हुँदा सरकारले उद्धार तथा राहत पु¥याउन नसकेको बताए । 

सांसद शिवकुमार मण्डलले नवलपरासीको जिल्ला सदरमुकाम परासीमा बाढी पसेको हुँदा हजारौँ जनता बिचल्ली परेको जानकारी दिए । 

सांसद डा सुबोधकुमार पोखरेलले संविधान कार्यान्वयनमा प्रमुख दलका शीर्ष नेताको ध्यान जानुपर्छ भने। सांसद वृजेशकुमार गुप्ता र डिम्पलकुमारी झाले तराईका भूभाग बर्सेनि डुबानमा पर्छ भन्ने सरकारलाई जानकारी हुन्छ तर पूर्वतयारी केही हुँदैन भने । 

सांसद डिल्लीराज काफ्लेले सरकारले बाढीपहिरोपीडित जनतलाई राहत र उद्धारमा ध्यान दिनुपर्छ भने । सांसद भरतकुमार साहले रुपन्देही जिल्लामा तिनाउ नदीमा आएको बाढीका कारण धेरै गाउँ डुुबानमा परेको बताउँदै बिचल्लीमा परेका बाढीपीडितलाई राहत दिन माग गरे । 

सांसद गणेशकुमार पहाडीले सिन्धुली जिल्लामा हालैको वर्षात्ले पहिरो जाँदा एक जनाको मृत्यु भएको बताउँदै अन्नभण्डारको क्षेत्रका रुपमा रहेका महाभारत र चुरे क्षेत्रमा नदी नियन्त्रण गर्न सरकार र सदनको ध्यानाकर्षण गराए  । 

सांसद सकलदेव सुतियारले सप्तरी जिल्लाको गोबर गाँडागाउँ पूरै डुबानमा परेको हुँदा उद्धारमा सरकारको ध्यान जाओस् भने । 

सांसद क्रृषिकेश पोखरेल, नरसिंह चौधरी र अशोककुमार मण्डलले सरकारले बाढीपहिरो र डुुबानको समस्या समाधान गर्नका लागि पूर्वतयारीमा ध्यान दिन नसक्दा बर्सेनि यस्ता समस्या आउने गरेको बताए । 

सांसद हरिप्रसाद नेपालले कालीगण्डकीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा उच्च जोखिममा परेको तर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद दिलशोभा पुन र सीताराम महतोले बाढीपहिरो र डुुबानपीडितलाई राहत पुर्याउन माग माग गरे । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!