राजधानीकै विद्यालय बाढीले डुब्यो

Posted on: 01 Sep, 2017

भदौ १६, काठमाडौँ | बाढीका कारण राजधानी काठमाडौँकै एक सामुदायिक विद्यालय डुबानमा परेपछि अनिश्चितकालका लागि पठनपाठन बन्द भएको छ । 

राम्रो नतिजा ल्याउनेमध्येको एक सामुदायिक विद्यालय ज्ञानोदय माध्यमिक विद्यालय (बाफल) यही भदौ १४ गते रातिको वर्षासँगै नजिकैको मनमति खोलाको बाढी पसेर पाँच फिटसम्म डुबानमा परेको हो । 

शिशु कक्षादेखि १२ सम्म कुल दुई हजार २०० विद्यार्थी र ७६ जना शिक्षक रहेको सो विद्यालयको पूर्व र उत्तरतर्फबाट मनमति खोला पस्दा करिब रु ५५ लाख बराबरको क्षति भएको प्रधानाध्यापक नातिकाजी महर्जनले राससलाई जानकारी दिनुभयो । “सोच्नै नसकिने गरी विक्षिप्त स्थिति बनेको छ, उद्धारका लागि सम्बन्धित निकायमा गुहार मागिएको छ तर पर्याप्त सहयोग पाइएको छैन”– उहाँले भन्नुभयो, “जतिखेर पनि विद्यालयमा बस्न मन पराउने हामीलाई अहिले पस्नै मन नलाग्ने बनाइदिएको छ ।” 

विद्यालयमा बिहीबार र शुक्रबार पढाइ पूर्णतः बन्द भएको छ भने हिलो पन्छ्याउन कठिन भएकाले अझै केही दिनपछि मात्र विद्यालय खुल्न सक्ने देखिएको छ । 

तराई–मधेशमा आएको बाढीका कारण पूर्ण क्षति भएका विद्यालय पुनः निर्माणका लागि करि रु एक अर्ब र तत्काल राहतका लागि रु ४० करोड आवश्यक पर्ने देखिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!