मुसहर बस्ती निर्माण गर्न एक करोड अभाव

Posted on: 21 Mar, 2017


चैत ८, महोत्तरी । बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि रु एक करोडभन्दा बढी रकमको अभाव देखिएको छ । 

साबिक बर्दिबास नगरपालिका– २ ( हाल बर्दिवास– १) मा निर्माणाधीन सो बस्तीको ७२ दिनको अवधिमा ८० प्रतिशत निर्माण सम्पन्न भएको र अब पूर्ण रुपमा तयार हुन रु एक करोड ३० लाख अभाव भएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिनुभयो । 

सहयोगी हातहरु निरन्तर प्राप्त भइरहेकाले रकम जुट्नेमा आफू विश्वस्त रहेको कट्टेलले बताउनुभयो । कुल रु चार करोड ७८ लाखको लागतमा निर्माण हुने सो बस्ती आगामी नयाँ वर्ष १ का दिन मुसहरलाई हस्तान्तरण गरिने योजनाका साथ काम भइरहेको हास्य कलाकार कुञ्जना घिमिरेले जानकारी दिनुभयो । 

सो बस्तीका घरमा छाना, रङ्गरोगन, शौचालय, झ्याल तथा ढोका, खानेपानी, विद्युत् र धारा जडान, घरको अन्तिम प्लास्टर, दृश्यस्तम्भ, बस्तीभित्रको सडकको पिसिसी ढलान जस्ता काम तीव्र गतिमा भइरहेको फाउन्डेसनका परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले बताउनुभयो । 

एक सय दिनमा बस्ती निर्माणको काम सम्पन्न गरी मुसहर समुदायलाई हस्तान्तरण गर्ने योजनानुसार बस्तीको २० प्रतिशत काम बाँकी छ भने फाउन्डेसनसँग अब २४ दिन मात्र बाँकी रहेको छ । 

गत पुस २५ गते मह जोडीद्वारा शिलान्यास भई तीव ्रगतिमा निर्माणाधीन बस्ती निर्माणमा पछिल्ला दुई महिनायता दिनहुँ तीन सय जनाले पसिना बगाइरहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!