अमेरिकी 'करेन्सी सूची' बाट भारू बाहिरिएपछि नेपाली मुद्रा पनि बलियो बन्दै

Posted on: 13 Nov, 2022

कार्तिक २७, काठमाडौँ | गत शुक्रबार अमेरिको डिपार्टमेन्ट अफ ट्रेजरीले भारतीय मुद्रा (भारू) लाई 'करेन्सी लिष्ट'बाट निकालेसँगै अमेरिकी मुद्राको तुलनामा भारू बलियो भएको छ। 

भारू बलियो हुँदा नेपाली मुद्रा समेत बलियो भएको हो। भारतीय मुद्रासँग नेपाली मुद्रा 'पेग्ड' गरिएको छ। अर्थात् भारूको विनिमय दरमा हुने उतारचढाव अनुसार नै नेपाली मुद्रा पनि घटबढ हुने गर्छ।

अमेरिकाले भारत सहित इटाली, मेक्सिको, थाइल्याण्ड र भियतनामको मुद्रालाई पनि यस्तो सूचीबाट हटाएको छ। 


मुद्रामा छेडखानी गरिएको भन्दै यसअघि यी मुलुकका मुद्राहरू निगरानीको सूचीमा राखिएको थियो। यी मुलुकले तीन मध्ये एक मापदण्ड मात्र पूरा गरेकोले अमेरिकाले यो सूचीबाट बाहिर राखेको हो। 

चीन, जापान, कोरिया, जर्मनी, मलेसिया, सिंगापुर र ताइवान अहिले पनि यो सूचीमा छ। 

व्यापारमा लाभको लागि मुद्रामा छेडखानी गर्नेहरूलाई अमेरिकाले यस्तो सूचीमा राख्ने गर्छ। 

आफ्नो मुद्राको विनिमय दर कमजोर राखि राखेर व्यापारबाट लाभ लिन यस्तो छेडखानी गर्ने मानिन्छ। विनिमय दर कम राख्दा निर्यात गर्ने मुलुकहरूको लागत कम पर्छ। 

यो सूचीबाट भारू हटेसँगै डलरको तुलनामा भारूको विनिमय दरमा सुधार हुने अपेक्षा गरिएको छ। 

अमेरिकाले आफूसँगको दुईपक्षीय व्यापारमा १२ महिनामा २० अर्बभन्दा बढीको व्यापार गर्ने मुलुक भएमा, सो मुलुकको चालु खाता सोही मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) भन्दा दुई प्रतिशतभन्दा बढी भएमा र मुद्रामा एकपक्षीय हस्तक्षेप गरिएमा यो सूचीमा राखिने गरिन्छ। 

मुद्रामा एकपक्षीय हस्तक्षेप भन्नाले जिडिपीको दुई प्रतिशतभन्दा बढी विदेशी मुद्रा खरिद गरेर कुनै मुलुकले आफ्नो मुद्रा बलियो बनाइराख्नुलाई बुझिन्छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!