दोस्रो खानेपानीे सुधार आयोजनाबाट पानी वितरण

Posted on: 19 Dec, 2016

पुस ४, बर्दिवास । महोत्तरीको बर्दिवासमा सञ्चालित दोस्रो खानेपानीे सुधार आयोजनाबाट आजदेखि पानी वितरण सुरु गरिएको छ । स्थानीय मुसहरबस्तीमा आज आयोजित कार्यक्रममा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले सो आयोजना शुभारम्भ गर्नुभएको हो । 

यसअघि पहिलो खानेपानी पहुँच आयोजनाबाट वितरण भएको पानी अपुग भएपछि सो आयोजना सुरु गरिएको थियो । एसियाली विकास बैंकको अनुदान सहयोग र ऋण तथा बर्दिवास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको श्रमदानमा रु साढे पाँच करोडको लागतमा सो आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिनुभयो । 

सहरीकरण बढ्दै गएसँगै बर्दिवासमा खानेपानीको समस्या ममाधान गर्न दुई वर्षपहिले सो आयोजना सुरु गरिएको थियो । 

“हाम्रो बस्तीबाटै खानेपानी धाराबाट पानी वितरण सुरु भयो”, मुसहर बस्तीकी मनिता सादाले भन्नुभयो–“अब लाग्छ हाम्रोबारे पनि अन्य समुदाय सोच्दा रहेछन् ।” 

मुसहर बस्तीमा आज खानेपानी धाराबाट पानी पाउन थालेको खुसियालीमा त्यो बस्तीका दलितले सामूहिक भोज गरेका थिए । खानेपानी तथा सरसफाइ संस्थाको दोस्रो सुधार आयोजना सम्पन्न भएसँगै बर्दिवास नगरपालिका क्षेत्रका वडा नम्बर १, २, ३ र ४ गरी चार हजार घरपरिवारलाई तत्कालका लागि खानेपानी समस्या समाधान भएको छ । अब बढ्ने जनसङ्ख्या र सहरीकरणलाई ख्याल गरेर बर्सेनि खानेपानीसँग सम्बन्धित काम गरिए पानीको समस्या नहुने संस्थाका अध्यक्ष पोखरेलको ठम्याइ छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!