नवलपरासीको रामग्राम क्षेत्रबाट अवैधरुपमा माटो निकालिदै

Posted on: 12 Nov, 2016

कात्तिक २७, नवलपरासी । पुरातात्विक क्षेत्र नवलपरासीको रामग्राम स्तुप आसपासको क्षेत्रबाट अवैधरुपमा माटो निकाल्ने कार्य हुँदासमेत सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन् । 

गौतमबुद्धको आठवटा अष्टधातुमध्ये सिङ्गो भाग रहेको अष्टधातु रामग्राम स्तुपमा मात्र रहेको छ । जुन धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । 

तर संरक्षणमा सरकारी निकाय र जिम्मेवारी लिइने निकायले चासो नलिएपछि स्तुप क्षेत्र अस्तव्यस्त बनेको छ । 

रामग्राम स्तुपको संरक्षणमा सरकारी निकायले चासो नदेखाउँदा स्तुप क्षेत्रमा अवैध रुपमा माटो खन्ने कार्य भइरहेको छ । स्तुप क्षेत्र वरिपरीबाट माटो खनेर ट्याक्टरमा लैजाने गरेका छन् । 

लुम्बिनी विकास कोष अन्तर्गतको स्तुप क्षेत्र संरक्षण नभएका कारण अवैधरुपमा माटो खन्ने र जथाभावी उत्खनन्ले पुरातात्विक महत्वका सामग्री नष्ट भएर जाने गरेको छ । 

संरक्षण र विकासको जिम्मेवारी पाएको लुम्बिनी विकास कोषका दुईजना कामदारको रुपमा कर्मचारी रहेको भए पनि यस क्षेत्रबाट माटो खल्ने कार्य रोकिएको छैन् । 

रामग्राम नगरपालिका– ७ उजैनीमा रहेको स्तुप क्षेत्र वरिपरी माटो खनिनुका साथै झरही खोलाबाट पनि बालुवा र माटो खनेर लैजाँदा स्तुप क्षेत्रमा असर परेको स्थानीयवासीको भनाइ छ । 

रामग्राम स्तुप उत्तर तर्फबाट माटो खन्दा त्यहाँ रहेका रुख बिरुवा समेत मासिने गरेका छन् । 

रामग्राम स्तुपमा वार्षिक १५ हजारदेखि २० हजार तेस्रो मुलुकबाट बौद्धधर्मालम्बी र पर्यटक आउने गरेको तथ्याङ्क आगन्तुक पुस्तिकाले देखाउँछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!