‘ठगी नियन्त्रणमा वैदेशिक रोजगार विभाग सक्रिय’

Posted on: 02 Jun, 2019

जेठ १९, रुपन्देही । वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुषालले वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणका लागि विभाग सक्रिय बनेको बताउनुभएको छ । उहाँले पछिल्लो समयमा संस्थागत ठगी धेरै भएकाले विभागले त्यसको नियन्त्रणका लागि काम गरिरहेको बताउनुभयो ।

 बुटवलमा आज आयोजना गरिएको साक्षात्कारमा उहाँले वैदेशिक रोजगारीमा जाने नपालीमाथि संस्थागत ठगी बढेको पाइएको जानकारी गराउनुभयो । उहाँले त्यस्ता ठगी नियन्त्रणका लागि विशेष रणनीतिका साथ काम गरिरहेको बताउनुभयो । 

महानिर्देशक डा भुषालले ३९ प्रतिशतले वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटेको तर विप्रेषणमा भने वृद्धि भएको जानकारी दिनुभयो । मलेसिया, कतार जस्ता देशमा देखापरेको पछिल्लो परिस्थिति र नेपालको आन्तरिक अवस्था सुधारका कारणले पनि वैदेशिक रोजगारी जानेको सङ्ख्या घटेको उहाँको तर्क छ ।  उहाँले विभागको प्रशासनिक क्षेत्रमा देखापर्ने अनुसाशनहीनतालाई अन्त्य गर्ने विभागको योजना रहेको बताउनुभयो ।  

श्रम तथा रोजगार कार्यालयका निमित्त प्रमुख बालकृष्ण थापाले बुटवल कार्यालयलाई थप व्यवस्थित गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले कार्यालयबाट दिने सेवा छिटोछरितो बनाउन प्रयत्न भइरहेको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!