कोरोना बीमाको ६० हजार ५८७ दाबीबापत ५ अर्ब ८५ करोड भुक्तानी

Posted on: 13 Apr, 2021

चैत्र ३१, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बीमा दाबी वापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ रकम भुक्तानी भएको छ ।

बीमा समितिले उपलब्ध गराएको चैत्र ३० गते सोमबारसम्मको तथ्यांक अनुसार कुल ६० हजार ५८७ वटा दाबी वापत सो रकम भुक्तानी भएको हो । जसमध्ये सरकारको दायित्वमा दुई अर्ब ३५ करोड १५ लाख रुपैयाँ परेको छ ।

२०७७ बैशाख ४ गतेदेखि ५० हजार रुपैयाँ र १ लाख रुपैयाँ बीमाङ्कको गरी दुई वटा कोरोना बीमालेखको बिक्री सुरु भएको थियो ।समितिका अनुसार चैत्र ३० गतेसम्म कारोना बीमा वापत कुल ९१ हजार ६७३ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका १ हजार ९८९ वटा दाबीका फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन्।

समितिका अनुसार १८ हजार ८५९ वटा दाबीका फाइल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् । महाशाखामा अध्ययनका लागि पठाइएका ३७ हजार ३८६ वटा फाइलमध्ये १८ हजार ५२७ वटा फाइल स्वीकृत भइसकेका छन् ।

समितिका अनुसार आवश्यक अध्ययनका लागि १ हजार ४९५ वटा दाबीका फाइल लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाईने क्रममा रहेका छन् । समितिले उपलब्ध गराएको तथ्यांकअनुसार ५ हजार ४३६ वटा दाबीका फाइल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत भएका तर कोरोना बीमा पुलबाट स्वीकृत हुन बाँकी रहेका छन् ।

त्यस्तै, ६६६ वटा दाबीका फाइल पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । भने २ हजार २०३ वटा दाबीका फाइल प्रमाणीकरण हुने प्रक्रियामा रहेको समितिले जनाएको छ । कोरोना बीमा मापदण्डमा कोरोना बीमालेख खरिद गरेका बीमितलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको सात दिनभित्र दाबी भुक्तानी गर्नु पर्ने प्रावधान छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!