के दाउद इब्राहिमको मृत्यु भएको हो ?

Posted on: 19 Dec, 2023

एजेन्सी | भारतको दुष्मन नम्बर एक मानिने कुख्यात आतंककारी दाउद इब्राहिम कासकर मारिएको समाचारले निक्कै खलबली मच्चिएको छ । बताइएअनुसार दाउदलाई खानामा बिष दिइएको थियो । उनको १७ डिसेम्बरका दिन राति १० बजेको आसपास मृत्यु भएको बताइन्छ । यो खबरको आधिकारिक पुष्टि भने कतैबाट हुन सकेको छैन । हिजो दिनभर नै यो खबरले निक्कै प्रधानता पायो । विशेषगरी, युट्युबलगायत सामाजिक सञ्जाल र भारतका नाम चलेका ब्लगर एवं विश्लेषकबीच यो निक्कै चर्चाको विषय बन्यो ।


दाउदको मृत्युको खबर पुष्टि हुन नसके पनि उनलाई गम्भीर हालतमा पाकिस्तानको कराँचीस्थित एक ठूलो अस्पताल लगिएको भने लगभग पक्का भएको छ । अस्पतालको उनी रहेको तल्ला पुरै खाली गरिएको र सेनाको कडा सुरक्षाबीच राखिएको पनि पक्का खबर छ । पाकिस्तानमा अनायासै इन्टरनेट बन्द गरिएको थियो । पाकिस्तानका मूलधारका मिडिया मात्र नभई युट्युब च्यानललाई समेत दाउदसम्बन्धी समाचारमा ‘चुपरहन’ सरकारी आदेश प्राप्त भएको पनि बताइन्छ ।

यसैबीच दाउदका सम्धी पूर्वक्रिकेटर जाबेद मियाँदाद र उनको परिवारलाई समेत सैनिक घेरामा नजरबन्द राखिएको बताइन्छ । मियाँदादले दाउदका बारेमा केही बोल्न नचाहेको समेत बताइन्छ । यो सबलाई हेर्दा दाउदका सम्बन्धमा केही ‘उल्लेखनीय घटना’ भएको भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

पाकिस्तानी सरकारका तर्फबाट यो खबर पुष्टि वा खण्डन दुवै हुने सम्भावना अत्यन्तै कम छ । भारतको तमाम आरोप र प्रमाणका बाबजुद पाकिस्तानले दाउद आफ्नो भूमिमा रहेको स्वीकार गरेको छैन । पाकिस्तानले सधैं दाउद आफ्नो भूमिमा नरहेको बताउँदै आएको छ । एउटा समाचार सूत्रले त दाउदको मृत शरीर कुनै बेला तेस्रो मुलुकमा गुप्त रूपमा सारिँदै छ र त्यहींबाट उनको मृत्युको खबर सार्वजनिक हुँदै छ भन्ने सम्म दाबी गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!