भारतीय खुफिया एजेन्सीद्वारा क्यानडेली शिख नेताको हत्या, दुई देशबीच तनाव चुलियो

Posted on: 19 Sep, 2023

असोज २, काठमाडौँ | भारतीय खुफिया एजेन्सीले क्यानडामा एक शिख नेताको हत्या गरेपछि दुई देशबीच तनाव चुलिएको छ ।

क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ भने भारतले पनि प्रतिवादमा उस्तै कदम चालेको छ ।

क्यानडेली प्रधानमन्त्री जस्टिन टुडो ले सोमबार संसदमा बोल्दै शिख समुदायका नेता हरदिप सिंह निज्जारको गत जूनमा भएको हत्यामा भारत सरकारका एजेन्टहरूको हात रहेको बताएका थिए । टुडोका अनुसार क्यानडा सरकारले आफ्ना गुप्तचरमार्फत यो सूचना प्राप्त गरेको हो । यस सम्बन्धमा आफूले जी २० को बैठकमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुरा गरेको उनले जानकारी दिए ।

‘क्यानेडियन भूमिभित्र क्यानडेली नागरिकको हत्या एउटा विदेशी सरकारको कुनै पनि किसिमको संलग्नता हाम्रो सार्वभौमिकताको उल्लंघन हो र यो अस्वीकार्य छ,’टुडोले भने । शिख स्वायत्तताको वकालत गर्दै आएका निज्जारको हत्यामाथि अनुसन्धानका लागि समन्वय गर्न भारतलाई दबाब दिने उनले बताएका थिए ।


लगत्तै क्यानडेली विदेशमन्त्री मेलानी जोलीले क्यानडाले आफ्नो देशमा रहेका भारत सरकारका प्रमुख कूटनीतिज्ञलाई देश निकाला गरेको घोषणा गरिन् ।

भारतीय विदेश मन्त्रालयले भने क्यानडेली प्रधानमन्त्रीको दाबीलाई खण्डन गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको सुरक्षामा धावा बोलिरहेका ‘खालिस्तानी आतङ्ककारी र अतिवादीलाई क्यानडाले आश्रय दिइरहेको’ आरोप समेत लगाएको छ ।

खालिस्तान भनेको शिख पृथकतावादीहरूले स्थापना गर्न खोजेको स्वायत्त राज्य हो ।

मन्त्रालयले टुडोले लगाएको आरोपलाई प्रधानमन्त्री नरेन्द्र मोदीले ठाडै खण्डन गरेको जनाएको छ । साथै, मन्त्रालयले एक वरिष्ठ क्यानेडियन कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको छ ।

यसै महिना क्यानडाले भारतसँगको एउटा व्यापार वार्ता स्थगित गरेको थियो । जि २० शिखर सम्मेलनमा मोदीले द्विपक्षीय वार्ता गर्ने नेताहरूको सूचीबाट टुडोलाई हटाएका थिए ।

टुडोका अनुसार शिख नेताको हत्याबाट क्यानडामा रहेका भारतीय मूलका नागरिकहरू आक्रोशित र चिन्तित बनेका छन् । क्यानडाको कुल जनसंख्यामा ४ प्रतिशत अर्थात् करिब १४ लाख भारतीय मूलका मानिसहरू छन् । उनीहरूमध्ये धेरै शिख समुदायका हुन् । जगमित सिंह क्यानडाको प्रतिपक्षी न्यू डेमोक्रेटिक पार्टीका नेता थिए, जसले टुडेको अल्पमतको सरकारलाई सत्तामा टिक्न सहयोग गरिरहेको छ ।

४५ वर्षीय निजारको ब्रिटिस कोलम्बियाको सर्रे स्थित एक शिख मन्दीरमा गोली हानी हत्या गरिएका थियो । भारतको पञ्जाव प्रान्तसमेत समावेश रहने गरी स्वतन्त्र खालिस्तानको पक्षमा संघर्ष गरिरहेका निज्जारलाई भारत सरकारले आतङ्ककारी घोषणा गर्दै वान्टेडको सूचीमा राखेको थियो । निज्जारले आफ्नो ज्यानमाथि खतरा रहेको बताउँदै आएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!