अमेरिकाको जङ्गलमा लागेको डढेलोमा परि मर्नेको सङ्ख्या ६७ पुग्यो

Posted on: 12 Aug, 2023

साउन २७, एजेन्सी | अमेरिकाको जङ्गलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । आगलागीबाट सबैभन्दा बढी हवाईको माउ काउन्टी क्षेत्रमा धेरैको मृत्यु भएको हो । 

धेरै ठाउँमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । हवाईका गभर्नर जोस ग्रीनले माउईमा मात्रै मृत्यु हुनेको संख्या ५९ पुगेको बताएका छन् ।

हवाईका गभर्नरले भनेका छन् कि मृत्युहरू खुला ठाउँमा भएको हो र भवनहरू भित्र होइन। मृतकको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ ।

हवाई प्रशासनले आगलागीको अनुसन्धान र सर्वेक्षण गर्न आदेश दिएको छ। चेतावनीको साइरन किन बजेनन् भन्ने पनि छानबिन हुनेछ, जसका कारण बासिन्दा सचेत हुन सकेका छैनन् । 

मङ्गलवारदेखि शुरु भएको डढेलो निक्कै फैलिएको छ । हवाई राज्यलाई विपदग्रस्त क्षेत्र घोषणा गरिएको छ । 

माउइ टापुसहित हवाईको ठूलो भू–भागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो । हवाई राज्यको इतिहासमा यो सबैभन्दा खराब प्राकृतिक प्रकोप मानिएको छ । क्षतिग्रस्त सहरमा क्षतिको विवरण लिन हिजो छोटो समयका लागि घर फर्कन प्रभावितलाई अनुमति दिइएको थियो । माउइ टापुमा लागेको डढेलोबाट भएको क्षतिलाई पुनर्निर्माण गर्न धेरै वर्ष लाग्ने हवाईका गभर्नर जोस ग्रीनले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!