आफ्नै छोरीलाई करणी गरेर बाबु फरार

Posted on: 09 Aug, 2023

साउन २४, काठमाडौँ | रुपन्देहीमा एक बाबुले आफ्नै छोरीलाई करणी गरेर फरार भएका छन् ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २, तल्लो खैरेनीस्थित ३१ वर्षीय लक्ष्मण सुनारले १३ वर्षीया नाबालिग छोरीलाई आमा नभएको बेलामा बलात्कार गर्ने गरेको भन्दै उजुरी परेपछि उनी फरार भएका हुन् । प्रहरीले आरोपितको खोजतलास जारी राखेको जनाएको छ ।

छोरीलाई पटक पटक बलात्कार गर्दै आएको आरोप लगाउँदै किशोरीकी आमाले उजुरी दिएकी छन् ।

दोस्रो विवाह गरेकी पीडित बालिकाको आमाले छोरी पहिलो श्रीमानको भएको बताएकी छन् । चार महिनादेखि बालिकालाई आफूसँगै ल्याएकी थिइन् ।

गत असारदेखि डर, धम्की दिँदै आफ्नो आमा नभएको मौका छोपी पटक पटक बलात्कार गर्दै आएको बालिकाले बताइन् । हाल आरोपी फरार भएको स्थानीय टोल विकास संस्थाका अध्यक्ष शिवु सुनारले बताए ।

उनले इलाका प्रहरी कार्यालय रन्यौरामा उजुरी गरिएको र अभियुक्तको खोजतलास भइरहेको बताए ।

इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख जीवन लामिछानेले अभियुक्तलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन इलाका प्रहरी कार्यालय बुटवलमा लेखी पठाएको बताए ।

उनले करणीको मुद्दा इप्रका बुटवलले नै हेर्ने भएकाले उतै पठाएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!