रजनीकान्तको ‘जेलर’ रिलिजको दिन शुक्रबार चेन्नई र बैंग्लोरका कर्मचारीलाई बिदा

Posted on: 07 Aug, 2023

एजेन्सी | रजनीकान्त ‘जेलर’को ग्राण्ड रिलिज तयारीमा छन् । दक्षिण भारतीय सुपरस्टारको फिल्म शुक्रबार प्रदर्शनको तयारीमा छ । करिब दुई वर्षपछि रजनीकान्त ठूलो पर्दामा फर्कन लागेका हुन् ।

फ्यान उनको ताजा अवतारलाई पर्दामा हेर्न उत्सुक छन् । दक्षिण भारतमा रजनीकान्तलाई पछ्याउने फ्यानको क्रेज यतिसम्म छ कि उनको गृहनगर चेन्नईका साथै बैंग्लोरलगायतका सहरका कार्यालयले ‘जेलर’ रिलिजको दिन शुक्रबार कर्मचारीलाई बिदा दिने घोषणा नै गरेका छन् ।


साथै, कार्यालय व्यवस्थापनले फिल्मको पाइरेसीलाई रोक्न कर्मचारीलाई निःशुल्क टिकट समेत उपलब्ध गराउने भएको छ । अन्य केही कार्यालयले पनि ‘जेलर’ रिलिजको दिनमा बिदा दिएर ‘जेलर मेनिया’लाई प्रस्तुत गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

‘जेलर’का निर्माताले फ्यानलाई फिल्मबारे छिनछिनमा अपडेट दिंदै सामाजिक सञ्जालमा प्रचारलाई तीव्र बनाएका छन् । सुपरस्टार रजनीकान्तको ‘जेलर’को क्रेज अमेरिकाको न्युयोर्कस्थित टाइम्स स्क्वायरमा समेत देखिएको छ । समुन्द्रपारका मुलुकमा फिल्मको एड्भान्स बुकिङ सुरु भएको छ भने तमिलनाडुका केही हलले मात्र बुकिङ खुला गरेका छन् ।

पहिलो दिन तमिलनाडुका ९० प्रतिशत हलमा फिल्म रिलिज हुने र रजनीकान्त अभिनित फिल्मको अहिलेसम्मकै उच्च ओपनिङ हुने प्रक्षेपण गरिएको छ । नेल्सन दिलीपकुमार निर्देशित यो फिल्मलाई एक्सन इन्टरटेनर बताइएको छ । फिल्ममा रजनीकान्तले अवकाशप्राप्त प्रहरीको भूमिका निर्वाह गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!