पाकिस्तानमा रेल दुर्घटना, मृत्यु हुनेको संख्या ३० पुग्यो

Posted on: 07 Aug, 2023

साउन २२, एजेन्सी | पाकिस्तानमा आइतबार भएको रेल दुर्घटनाले पुरै देश शोकमा डुबेको छ । हजारा एक्सप्रेसका करिब १० डब्बा पटरीबाट खसेर दुर्घटना हुँदा हालसम्म ३० जनाको मृत्यु भइसकेको छ भने ८० भन्दा बढी घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार यस दुर्घटनामा धेरै यात्रु गम्भीर घाइते भएकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । जियो न्युजको रिपोर्ट अनुसार रावलपिंडी जाँदै गरेको हजारा एक्सप्रेस सहारा रेलवे स्टेसन नजिकै शहजादपुर र नवाबशाहको बीचमा आइतबार दुर्घटनामा परेको थियो। जसमा ८० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि सिन्धको नवाबशाहस्थित पिपुल्स मेडिकल अस्पतालमा लगिएको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ । यस्तो अवस्थामा मृतकको सङ्ख्या अझै बढ्न सक्ने जनाइएको छ । 

यस दुर्घटनालाई ध्यानमा राख्दै, पाकिस्तान रेलवे अधिकारीहरूले सिन्धको भित्री जिल्लाहरूबाट रेलहरूको सञ्चालन निलम्बित गरिएको जानकारी दिएका छन् । रेल सेवा पुनर्स्थापित गर्न १८ घण्टा लाग्न सक्ने उनीहरुले बताएका छन् । स्थानीय प्रशासनका अनुसार दुर्घटनापछि नजिकका अस्पतालहरूमा आपत्कालीन अवस्था लागू गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!