सिंगापुरमा एक हप्तामा तीन जनालाई मृत्युदण्डको सजाय

Posted on: 03 Aug, 2023

एजेन्सी | सिंगापुरमा एक हप्तामा तीन जनालाई मृत्युदण्ड दिइएको छ । बिहीबार अर्थात् आज सिंगापुरको सरकारले ३९ वर्षका युवक मोहम्मद सालेह अब्दुल लतिफलाई फाँ'सी दिएको हो । उनीबाट सन् २०१९ मा ५४ ग्राम हेरोइन जफत गरिएको थियो  । ब्युरोका अनुसार यो हेरोइनले ६ सय जनालाई नशामा पुर्याउन सक्छ । 

ट्रायलका बेला अब्दुल लतिफले आफूलाई हेराइनबारे कुनै जानकारी नभएको बताएका थिए । उनका अनुसार उनले साथीको उधारो तिर्न उनको सामान डेलिभर गरिदिएका थिए । उनलाई त्यो सामान हेरोइन थियो भन्ने थाहा नभएको उनले बताएका थिए । यद्यपि, अदालतले उनको कुरा मान्न अस्वीकार गर्‍यो । अब्दुल लतिफ ती साथीसँग त्यति धेरै नजिक नभएको र उनीमाथि त्यति सजिलै विश्वास गर्न सक्ने अवस्थामा पनि नरहेको भन्दै न्यायाधिशले उनी विरुद्ध सजाय सुनाए ।

सजाय सुनाउने बेला सिंगापुरको अदालतले अब्दुल लतिफले हेरोइन ओसारपसार गरेको बतायो । उनी कुनै ड्रग र्‍याकेटसँग आबद्ध नभए पनि उनलाई मृत्युदण्डको सजाय सुनाइयो । वास्तवमा सिंगापुरको कानुन अनुसार यदि कुनै पनि व्यक्तिलाई ५०० ग्रामभन्दा बढी गाँजा वा १५ ग्रामभन्दा बढी हेरोइन तस्कर गरेको पाइए उनलाई मृत्युदण्डको सजाय दिइन्छ । 

युएनसमेत थुप्रै देश सिंगापुरको यो कानुनविरुद्ध विरोध जताइसकेका छन् । यद्यपि, सिंगापुरले लागुऔषधको तस्करीलाई नियन्त्रणमा राख्नका लागि यो कडा सजायलाई आवश्यक ठान्छ । जबकी छिमेकी देश थाइल्यान्डले गाँजाको प्रयोगमा कानुनी रूपमा मन्जुरी दिएको छ ।

यस्तै सिंगापुरले यसै हप्ता एक महिला र पुरुषलाई पनि मृत्युदण्डको सजाय दिएको थियो । मृत्युदण्ड पाएकी एक महिलाबाट २०१८ मा ३१ ग्राम हेराइन जफत गरिएको थियो । उनको नाम सारीदेवी बिंते जमानी हो । सिंगापुरमा पछिल्लो २० वर्षमा पहिलो पटक कुनै महिलालाई फाँसीको सजाय दिइएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!