ट्वीटरको मुख्यालयबाट किन हटाइयो एक्स लोगो ?

Posted on: 02 Aug, 2023

एजेन्सी | ट्वीटर प्लाटफर्मलाई एक्सको रुपमा रिब्रान्डिंग गरी कम्पनीको नाम र लोगो समेत फेरेका एलन मस्कले केहीदिनअघि कम्पनीको सनफ्रान्सिस्कोस्थित मुख्यालयमा नयाँ लोगो सहितको बोर्ड राखेका थिए ।

साथै उनले हरेक ठाउँमा एक्स ब्रान्डिङ लागू गर्ने प्रक्रिया पनि पूरा गरिसकेका छन् ।  तर, यहीँ बीच कम्पनीको मुख्यालयमा राखिएको एक्स लोगोलाई स्थानीय अधिकारीहरुले हटाइदिएपछि मस्कलाई धक्का लागेको छ ।

स्थानीय अधिकारीहरुले सोमबार बिहान कम्पनीको मूख्यालयमा राखिएको आकर्षक एक्स अंकित लोगो हटाइदिएका हुन् । आखिर किन हटाइयो त कम्पनीको एक्स लोगो ?

समाचार अनुसार स्थानीय बासिन्दाहरुको गुनासोपछि मस्कको प्रिय तथा आकर्षक लोगो कार्यालायबाट हटाइएको हो ।

स्थानीय मानिसहरुले उक्त लोगो निकै चम्किलो रहेको र त्यसको प्रकाशले रातको समयमा धेरै अप्ठेरो पारेको भन्दै अधिकारीहरु समक्ष उजुरी गरेका थिए ।

जनताको गुनासोपछि निरीक्षण अधिकारीहरु एक्स कम्पनीको छतमा गएर हेर्ने कोसिस गरेका थिए । तर, कम्पनीले अधिकारीहरुलाई कार्यालय प्रवेश गरेर लोगोको अनुगमन गर्न दिएन । अस्थायी रुपमा उक्त लोगो राखिएको दाबी कम्पनीले गरेको थियो ।

सनफ्रान्सिस्कोस्थित भवन निरीक्षण तथा सहरी योजना विभागका सञ्चार निर्देशक प्याट्रिक हेननले ट्वीटरलाई सो लोगो हटाउनका लागि पहिले नै सूचना जारी गरिसकिएको तर उसले आफैं नहटाएपछि विभागले हटाइदिएको बताए ।

सो लोगो विरुद्ध २४ वटा गुनासो विभागमा परेको भन्दै उनले अनधिकृत रुपमा लोगो राखेको विषयमा सो भवनका मालिकमाथि जरिवाना पनि गरिएको बताए ।

एलन मस्कले हालै मुख्यालयमा नयाँ लोगो स्थापित भएसँगै एक भिडियो पोस्ट गरेका थिए । त्यसमा हवाई दृश्यमा निकै चम्किलो नयाँ लोगो देखिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!