४ वर्षीया नातिनी अपहरण गरेर छोरीसँग फिरौती माग्ने हजुरबुवा

Posted on: 26 Apr, 2023

बैशाख १३, काठमाडौँ | ‘सावाँको भन्दा ब्याजको माया लाग्छ’ यो भनाई हजुरबुवा–हजुरआमाले आफ्ना नाति नातिनाका लागि प्रयोग गर्ने वाक्य हो । आफ्नो सन्तानको भन्दा पनि नाति नातिनाको बढी माया लाग्छ भनेर यो वाक्यले भन्न खोजिरहेको छ तर चीनका एक हजुरबुवाले भने यो वाक्यको ठिक विपरीत गरेर धेरैलाई चकित बनाएका छन् । चीनका ६५ वर्षका अवकाशप्राप्त एक वृद्धाले आफ्नै नातिनी अपहरण गरेर छोरीसँग ७० हजार डलर (करिब ९२ लाख रुपैयाँ) फिरौती मागेका छन् ।

चिनियाँ मिडियाका अनुसार युआन थर भएका वृद्धलाई जुवाको लत बसेको थियो । के सनक चढ्यो,  उनी नातिनीलाई अपहरण गर्न उनको स्कुल गए । त्यसपछि नातिनीलाई उनको आमाबुवाको घरमा पुर्‍याइदिनुको साटो छोरीलाई सिधै फोन गरे । फोनमा उनले ‘छोरीलाई हेर्न मन छ भने ७० हजार डलर फिरौती देऊ’ भनेर धम्की दिए ।

एक पटक त उनले तीन दिनभित्र फिरौती रकम नबुझाए चार वर्षीय नातिनीको हत्या गरिदिनेसमेत धम्की दिए । उनकी छोरीले तत्काल यसबारे प्रहरीलाई खबर गरिन् । त्यसपछि युआन पक्राउ परे ।

घटना कहिलेको हो भनेर स्पष्ट जानकारी छैन तर साङ्घाई ल जर्नलले ती वृद्ध पहिले पनि जेल परिसकेको बताएको छ । उनले पक्राउ पर्नुको सबै दोष आफ्नी छोरीलाई दिएका थिए । साथै छोरीले आफ्नो भलाई के मा हुन्छ भनेर नसोचेको र आफ्नो जीवनलाई सहज बनाइदिनुको साटो मरे हुन्छ जस्तो व्यवहार गरेको आरोप पनि लगाए । उनले आफ्नी छोरीलाई कृतघ्न भने । 

युआनको यस्तो व्यवहारपछि धेरैले उनलाई बुवा र हजुरबुवा हुन लायक नभएको भन्दै गाली गरे । कतिले उनकी छोरीलाई बुवासँगको सबै सम्बन्ध तोडिदिन सल्लाहसमेत दिए ।

अडिटी सेन्ट्रलका अनुसार ती व्यक्ति जेलमा हुँदा छोरीसँगको सम्बन्ध बिग्रिएको तर पूर्व श्रीमतीको सहयोगमा उक्त सम्बन्ध पुनः सुमधुर भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!